यसरी मनाइयो छैठौं नेपाली टोपी दिवस (तस्विरमा)

यसरी मनाइयो छैठौं नेपाली टोपी दिवस (तस्विरमा)

काठमाडौं, १७ पुस । ‘नेपाली टोपीः हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका साथ छैठौं नेपाली टोपी दिवस भब्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रम अन्तर्गत आज बिहान राजधानी काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरियो । प्रभातफेरी कार्यक्रममा बालबालिका, युवायुवतीदेखि बृद्धहरुको समेत बाक्लो उपस्थिती थियो ।

कार्यक्रममा कलाकार, पत्रकार, साहित्यकार, विद्यार्थीदेखि राजनीतिज्ञहरुको पनि उपस्थित थियो । प्रभातफेरीमा सहभागिहरुले दौरा सुरुवाल, गुन्यूचोली र टोपी लगाएका थिए । प्रभातफेरीमा पञ्चेबाजाका साथमा राष्टिय गीत गाइएको थियो ।

टोपी दिवसका अवसरमा आज अहिले सम्मकै ठूलो नेपाली टोपी प्रदर्शन भएको दाबी गर्दै समापन कार्यक्रममा बोल्दै जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले नेपाली टोपीलाई नेपाली पहिचानका रुपमा घोषणा गर्न माग गरेका छन् । कार्यक्रममा उपस्थिती हुनुभएका पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले नेपाली टोपी जगेर्ना सबैको दायित्व भएको बताउनुभयो ।

सदियौदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालिन सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएपछि हामीले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउदै आएका छौं ।

बिश्वमा हरेक मुलुकको आ–आफ्नाे मौलिक पहिचान छ । त्यसकारण हामी पनि राष्ट्रिय पहिचानको खोजीमा छौं । त्यसका लागि हामीले विगत ५ बर्षदेखि विभिन्न अभियानहरु संचालन गर्दै आईरहेको कुरा अवगत नै छ । जसमध्ये हरेक अंग्रेजी नयाँ बर्षका दिनलाई नेपाली टोपी दिवसकारुपमा मनाउने हाम्रो मुख्य अभियान हो ।