लालुप्रसादलाई साढे तीन वर्षको जेल सजाय

लालुप्रसादलाई साढे तीन वर्षको जेल सजाय

फाेटो: बिबिसी

भारतको केन्द्रीय अनुसन्धान निकाय सीबीआईको विशेष अदालतले विहार राज्यका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई पशुपंक्षीको दानासम्बन्धी भ्रष्टाचार काण्डमा साढे तीन वर्षको जेल सजाय सुनाएको छ।

दुई साताअघि उक्त काण्डमा दोषी ठहर गरिएका उनलाई शनिबार अदालतले सजाय तोकेको हो।

लालुप्रसाद यादव अहिले राँचीको बिरसा मुण्डा जेलमा छन्।

राँचीस्थित स्थानीय पत्रकार नीरज सिन्हाका अनुसार भिडिओमार्फत गरिने प्रत्यक्ष कुराकानी ‘भिडिओ कन्फेरेन्सिङ’को माध्यमबाट सजाय सुनाइएको थियो।

हिनामिना

साढे तीन वर्षको जेल सजायका अतिरिक्त लालुप्रसादलाई पाँच लाख रुपैयाँको जरिवाना पनि तोकिएको छ।

फैसला सुनाएको अदालतबाट उनको जमानत हुन नसक्ने बताइएको छ।

बिरसा मुण्डा जेलतस्वीर: कपीराइट NIRAJ SINHA

लालुप्रसाद यादवको पक्षमा बहस गरिरहेका वरिष्ठ अधिवक्ता प्रभात कुमारले उच्च न्यायालयमा अपील गर्ने बताएका छन्।

सन् १९९० को दशकको पूर्वार्द्धमा पशुपंक्षीको दानाका लागि राज्यकोषबाट छुट्याइएको लाखौं रुपैयाँ हिनामिना भएको घटनामा लालुप्रसाद दोषी पाइएका हुन्।

‘चारा घोटाला’को नामले चर्चित भ्रष्टाचार काण्डमा उनका अतिरिक्त १५ जनालाई दोषी ठहर गरिएको छ, र तीमध्ये छ जनालाई सात-सात वर्षको जेल सजाय सुनाइएको छ।

हिनामिना गरेको अभियोग २२ जनामाथि लगाइएको थियो जसमध्ये विहारका अर्का पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्र पनि थिए।

तर उनीसहित छ जनालाई भने सफाइ दिइएको छ।

अभियोग

हिनामिनाको षड्यन्त्रमा संलग्नहरुलाई बचाउन खोजेको अभियोग लालुप्रसादमाथि लगाइएको थियो।

सीबीआईका अनुसार, उक्त बेला विहारको मुख्यमन्त्री रहेका लालुप्रसादले अनुसन्धानको कागजात आफ्नो कब्जामा लिएका थिए।

यसको अतिरिक्त उनले कर्मचारीतन्त्रको आपत्तिको बेवास्ता गर्दै तीन अधिकारीको पदावधि लम्ब्याएको सीबीआईले जनाएको छ।

यसअघि लालुप्रसाद यादवलाई पशुपंक्षीको दानासम्बन्धी अर्को भ्रष्टाचार प्रकरणमा सन् २०१३ मा पनि दोषी पाइएको थियो र उनलाई पाँच वर्षको जेल सजाय तोकिएको थियो। – बिबिसी