‘ए’ डिभिजन लिग: ब्रिगेड ब्याइज विजयी, आर्मी र जावलाखेल बराबर

‘ए’ डिभिजन लिग: ब्रिगेड ब्याइज विजयी, आर्मी र जावलाखेल बराबर

काठमाडौं, १६ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ ।

आज भएको खेलमा ब्रिगेडले फ्रेन्ड्सलाई ३–० गोल अन्तरले पराजीत गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा ब्रिगेडलाई जित दिलाउन कजिम बुसारीले दुई गोल गर्नुभयो । एक गोल अब्दुल करीमले गर्नुभएको थियो । लिगमा ब्रिगेडको यो दोस्रो जित हो ।

जितसँगै ब्रिगेडले ९ अङ्क जोडेको छ । ब्रिगेड लिगको ११ औं स्थानमा छ । ९ अङ्क नै जोडेको फ्रेन्ड्स १२ औं स्थानमा छ । यस्तै, लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ । आजै भएको खेलमा आर्मी जावलाखेल युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो । हल्चोकस्थित एपीएफ मैदानमा पाएको मौका सदुपयोग गर्न नसक्दा आर्मीले जावलाखेलसंग अङ्क बाडेको हो । बराबरीसँगै आर्मीले १२ खेलबाट २२ अङ्क जोडेको छ ।

आर्मीले लिगको तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । आर्मी अङ्क तालिकाको चौथो स्थानमा छ । जावलाखेल १२ अङ्क जोडेर तालिकाको नवौं स्थानमा छ ।