

-जीवन भण्डारी-
काठमाण्डौ, १६ पुस । वर्ष सन् २०१८ मा पनि अमेरिकाको चर्चा र भूमिका धेरै देखियो भने अन्य देशका विभिन्न घटनाहरु पनि विश्वव्यापी भए । वर्षभरीका चर्चित मुख्य घटनाक्रमहरुको सूचीमा राजनीतिक घटनाहरु नै धेरै भएका छन् । त्यस बाहेक हिंसात्मक, आपराधिक तथा अन्य विभिन्न घटनाहरु पनि चर्चाको शिखरमा पुग्न सफल भएका छन् । यस बर्षका मुख्य केही घटनाहरुको यहाँ संक्षेपमा स्मरण गरिएको छ ।
१.इन्डोनेसियामा दुई हजारको ज्यान लिने भूकम्प
यस बर्षको सम्भवतः सबैभन्दा ठूलो विनासकारी घटनाको रुपमा इन्डोनेसियाको भूकम्पलाई लिन सकिन्छ । सेप्टेम्बर २८ तारिखका दिन आएको ७.४ म्याग्नीच्युडको भूकम्पले दुई हजार भन्दा बढीको ज्यान लिएको छ भने झण्डै सात सय अझै पनि बेपत्ता छन् । सुलावेसीलाई केन्द्रबिन्दु बनाएर आएको यस भूकम्पमा परी १७ सय घाइते भएका थिए भने लाखौँको भौतिक संरचनामा क्षतिग्रस्त भएका थिए ।
२.अनपेक्षित ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचित भएको दुई बर्ष बितिसक्दा पनि राष्ट्रपतिका रुपमा अपेक्षित भन्दा पनि अनपेक्षित भूिमकाहरु धेरै देखाउनुभयो । सञ्चार माध्यमहरु, आफ्नै मन्त्री र कर्मचारीहरुलाई पनि पूर्ण विश्वास कहिल्यै गर्नुभएन । उहाँले यो अवधिमा झण्डै डेढ दर्जन मन्त्री तथा मुख्य कर्मचारीहरुलाई बर्खास्त गर्नुभयो भने अन्य देशहरुसँगको सम्बन्धमा पनि विश्वास बढाउन सक्नु भएन । उत्तर कोरियाका नेता किम जोङ उनसँगको वार्ता बाहेक उहाँको प्रशंसायोग्य भूमिका कमै भएको अधिकांशको ठम्याई छ । पछिल्लो समयमा केही ठाउँमा भएको निर्वाचनको नतिजा र मेक्सिको पर्खालको बजेट पारित नभएपछि कर्मचारी तलबबिहिन भएका घटनाले धक्का दिएको छ ।
३.ब्रेजिक्टमै अल्झियो बेलायत
युरोपेली संघसँग बाहिरिने निर्णय गरेको बेलायतले त्यसको प्रक्रियालाई टुङ्गोमा पु¥याउन निकै मेहेनत गर्नु परेको छ । प्रधानमन्त्री थेरेसा मेले नयाँ अन्तर्राष्ट्रिय सम्बन्धहरुमा धेरै ध्यान दिन भ्याउनु भएको छैन भने ब्रेक्जिट मामिलामा दुई जना विदेश मन्त्रीसहित अन्य केही मन्त्री र वरिष्ठ अधिकारीहरुले समेत उहाँलाई साथ दिएनन् । सन् २०१६ को जुनमा भएको जनमत सङ्ग्रहमा ५२ प्रतिशत अर्थात् १ करोड ७४ लाख मतदाताले ब्रेक्जिटको पक्षमा मतदान गरेका थिए । ४८ प्रतिशत अर्थात् १ करोड ६१ लाख मतदाताले भने बेलायत (युरोपियन युनियन) इयूकै सदस्य हुनुपर्छ भन्ने मत दिएका थिए । साढे दुई बर्ष बितिसक्दा पनि इयू छाड्ने प्रक्रिया टुङ्गिन्छ भन्ने विश्वासमा नै अझै पनि अनिश्चितामा बेलायत छ ।
४.उत्तर कोरिया र अमेरिकाको नाटकीय सम्बन्ध
लामो समयदेखि एक अर्कालाई प्रमुख दुश्मन मान्ने उत्तर कोरिया र अमेरिकाको सम्बन्धमा सन् २०१८ मा नाटकीय परिवर्तन भयो । एक अर्कालाई सिध्याउने चेतावनी दिएको केही महिनामै ती देशका नेताहरुले गत जुन १२ का दिन सिङ्गापुरमा भएको शिखर सम्मेलनको क्रममा एकअर्कालाई अङ्गालो हालेको भिडियो सार्वजनिक भएपछि विश्व समूदाय नै अचम्भित भएको छ । यो सम्भव बनाउने मुख्य श्रेय भने दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनलाई जान्छ । सम्बन्ध सामान्यीकरण गर्ने र कोरियाली द्वीपलाई आणविक निःशस्त्रीकरण गर्ने अभियान सन् २०१९ मा पनि जारी राख्ने प्रतिबद्धता तीनै देशबाट व्यक्त भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता कीमको दोस्रो शिखर बैठक सन् २०१९ को शुरुमै गर्ने तयारी हुँदैछ भने उत्तर कोरियाली नेता कीमले दक्षिण कोरियाको भ्रमण गर्ने योजना छ ।
५.नेतृत्व त्याग्ने मर्केलको घोषणा
जर्मनीको सत्तारुढ दल क्रिश्चियन डेमोक्रेटिक पार्टीमा १८ बर्षदेखि एकछत्र नेतृत्व गरेकी चान्सलर एन्जेला मर्केलले यस वर्ष पार्टी नेतृत्वबाट बिदा लिनु भएको छ । यसलाई पनि एउटा महत्वपूर्ण घटनाको रुपमा लिइएको छ । मर्केलले चान्सलरका लागि आफूले चौथो कार्यकालको अन्त्यपछि उम्मेदवारी नदिने घोषणा गरिसक्नुभएको छ । उहाँको चौथो कार्यकाल आगामी सन् २०२१ मा सकिने छ ।
६.पुटिन चौथो कार्यकालका लागि निर्वाचित
रुसको राष्ट्रपतिका रुपमा भ्लादिमिर पुटिन यस बर्ष चौथो कार्यकालका लागि निर्वाचित हुनु अर्को चर्चाको विषय बन्यो । गत मार्च १८ मा भएको निर्वाचनबाट उहाँ अर्को ६ वर्षे कार्यकालका लागि राष्ट्रपति बन्नु भएको हो । रुसमा एउटै व्यक्ति दुई कार्यकालमात्र राष्ट्रपति बन्न पाउने कानुनी प्रावधान रहेकाले पुटिन विगत १८ वर्षदेखि रुसमा राष्ट्रपति वा प्रधानमन्त्रीका रूपमा सत्तामा हुनुहुन्छ । अहिले ६५ वर्ष पुग्नु भएका पुटिनको यो कार्यकाल सन् २०२४ सम्मको जोड्दा उहाँको शासन २५ वर्षको हुनेछ ।
७.पत्रकार खशोज्जीको हत्या
साउदी अरबका पत्रकार जमाल खशोग्जीको गत अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित महावाणिज्य दूतावास भएको हत्याको विषय लामो समयसम्म विश्वव्यापी चर्चामा रह्यो । दशकौँसम्म साउदी राजपरिवारको सल्लाहकार भएका तर पछि सम्बन्ध बिग्रेपछि अमेरिका बस्दै आएका खशोज्जीले अमेरिकी पत्रिका द वासिङ्टन पोस्टमार्फत् साउदी युवराज मोहम्मद बिन सलमानका नीतिहरूको आलोचना गर्दै आउनुभएको थियो ।
८.अमेरिकी सेनाको फिर्ती
सिरियामा तैनाथ दुई हजार अमेरिकी सेनालाई इस्लामिक स्टेट विरुद्धको युद्ध समाप्त भएको भन्दै डिसेम्बर १९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेना फिर्ता लाने घोषणा गर्नुभयो । तर, इराक र अफगानिस्तानमा रहेका अमेरिकी सेनाको फिर्ती कहिले हुन्छ भन्ने अन्यौल कायमै छ ।
९.विश्वकप फुटबलको २१औँ सस्करण
एक्काइसौँ संस्करणको विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुम्यो । फ्रान्सले दोस्रो पटक विश्वकपको उपाधि जितेको हो । फ्रान्सले सुनको ट्रफीसँगै चार अर्ब १० करोड रुपैया पुरस्कार प्राप्त गरेको छ । विश्वकप फुटबल २०१८ को कुल पुरस्कार राशी ४३ अर्ब रुपैया रहेको थियो । एक महिनासम्म चलेको प्रतियोगितामा ३२ देशका ७३६ खेलाडी प्रतियोगितामा सहभागी थिए । क्रोएसियाका कप्तान लुका मोड्रिक फिफा विश्वकप २०१८ को सर्वोत्कृष्ट खेलाडी घोषित
रासस