शून्य नजिक तापक्रम पुग्दा चिसो बढ्यो काठमाडौँमा, माइनसमा झर्ने सम्भावना

शून्य नजिक तापक्रम पुग्दा चिसो बढ्यो काठमाडौँमा, माइनसमा झर्ने सम्भावना

काठमाडौँ, १५ पुस । काठमाडौँ उपत्यकामा आज बिहानको तापक्रम यो वर्षकै सबैभन्दा कम १ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान ५ः ४५ बजे न्यूनतम तापक्रम १ डिग्री मापन भएको र यो यस वर्षकै सबैभन्दा कम रहेको महाशाखाले जनाएको छ । यसअघि शनिबारको न्यूनतम तापक्रम १।५ र शुक्रबार १।४ डिग्री सेल्सियस मापन भएको थियो ।

मौसमविदकाअनुसार काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम अझै घट्ने र माइनसमा झर्न सक्ने सम्भावना पनि रहेको बताए । आज काठमाडौँ उपत्यकामा १६ देखि १८ डिग्री सेल्सियसको बीचमा अधिकतम तापक्रम रहने अनुमान गरिएको छ । उत्तरपश्चिमी वायुको प्रभावका कारण न्यूनतम तापक्रम घट्दै गएकाले चिसो बढेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकामा हिजोआज तापक्रम दैनिकजसो घटबढ भइरहेको छ । काठमाडौँ उपत्यकामा २७ पुस ०३४ मा तापक्रम माइनस ३।५ डिग्रीसम्म पुगेको थियो । आज दिउँसो भने देशभरको मौसम सामान्यतया सफा रहने बताइएको छ ।