लगानी सम्मेलन चैत १५ र १६ गते

लगानी सम्मेलन चैत १५ र १६ गते

काठमाडौँ, पुस १३ गते । नेपाललाई लगानीको आकर्षक गन्तव्यको रुपमा प्रवद्र्धन गर्न सरकारले आगामी चैत १५ र १६ गते लगानी सम्मेलन गर्ने भएको छ। कृषिको व्यावसायीकरण, ऊर्जा, सडक, रेल हवाई, औद्योगिक र सूचना प्रविधिका क्षेत्रलाई प्राथमिकतामा राखेर सम्मेलन गर्न लागिएको हो ।

बिहीबार आयोजित पत्रकार सम्मलेनमा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको दीर्घकालीन विकासको सोचलाई उपलब्धिमा रूपान्तरण गर्न सम्मेलन गर्न लागिएको बताउनुभयो । नेपालको तुलनात्मक लाभ र बजार प्रवद्र्धन गर्न सकिने र निर्यातको सम्भावना रहेका क्षेत्रमा निजी लगानी प्रोत्साहित गरिने उहाँले बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

ऊर्जाको आयात प्रतिस्थापन गर्न, त्यसको बजार खोज्न र प्रविधि भित्र्याउन विदेशी लगानीले काम गर्ने मन्त्री खतिवडाले बताउनुभयो । उहाँले भन्नुभयो ‘२०७३ सालमा पनि लगानी सम्मेलन भएको थियो। त्यसमा के–के उपलब्धि भयो र हामीले के–के गर्यौँ भन्ने जानकारी दिनु पनि सम्मेलनको उद्देश्य हो ।’

अघिल्लो लगानी सम्मेलनमा विभिन्न उपलब्धि हासिल भएको जनाइएको छ । भूकम्पपछि घोषणा गरिएको रकममध्ये एक तिहाईभन्दा बढी रकम प्राप्त गरिएको बताइएको छ । तीमध्ये अधिकांश सम्झौता जलविद्युतका परियोजनामा भएको छ ।

२०७३ को लगानी सम्मेलनमा करिब १४ खर्ब रुपियाँको प्रतिवद्धता आएको थियो तर मन्त्री खतिवडाका अनुसार नेपालमा २७५ अर्ब रुपियाँको लगानी सम्झौता भएको छ । विदेशी सहायताको प्रतिवद्धता बढेको चर्चा गर्दै उहाँले भन्नुभयो ‘लगानीको सम्भावना र वातवरणलाई हामीले राम्रोसँग प्रस्तुत गर्न नसकेको हो कि ? सम्मेलनबाट यी कुरा पनि प्रष्ट हुनेछ ।’ सम्भावनालाई विश्वास र विश्वासलाई कार्यान्वयनमा लैजाने वातावरण सम्मेलनले बनाउने उहाँले बताउनु भयो ।

सम्मेलनमा नेपालमा लगानीको वातावरणमा भएका सुधारलाई प्रस्तुत गरिने भएको छ । यसका लागि झण्डै एक दर्जन कानुनी सुधार गर्ने लागिएको छ । त्यसका साथै लगानी बोर्डलाई शक्तिशाली र प्रभावकारी बनाउने, सार्वजनिक खरिद ऐन, कम्पनी ऐन, विदेशी विनिमय ऐन, औद्योगिक व्यवसाय ऐन र नियमावली, विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐन संशोधनका क्रममा रहेका जानकारी दिइएको छ । केही मस्यौदाह मन्त्रीपरिषद्मा लगिएको मन्त्री खतिवडाले बताउनुभयो । संसदको हिउँदे अधिवेशनमै कानुनका मस्यौदाहरु संसदमा लगिने छ ।

सो अवसरमा नेपालमा लगानीका अवसरहरु, आर्थिक रुपमान्तरणका लागि १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन, सूचना तथा सञ्चार प्रविधिमार्फत डिजिटल अर्थ व्यवस्था निर्माण, मनोरञ्जन तथा तीर्थाटनका लागि पर्यटकीय गन्तव्य निर्माण दिगो यातायात पूर्वाधार निर्माण कृषि तथा वनजन्य उत्पादनमा लगानीको अनुभव लगानीमा अन्तर्राष्ट्रिय अनुभव लगायतका बिषयमा छलफल हुनेछ ।

नेपाल लगानी सम्मेलनमा विभिन्न मुलुकका संभावित लगानीकर्ता, अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि, कूटनीतिक नियोग, विकास साझेदार, गैरआवासीय नेपाली संघ, निजी क्षेत्र, विषयविज्ञ, सञ्चार क्षेत्र तथा नेपाल सरकारका उच्च पदाधिकारीहरुको सहभागिता रहने छ । लगानी बोर्ड, अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र परराष्ट्र मन्त्रालयको संयुक्त आयोजना र निजी क्षेत्रको सहआयोजनामा उक्त सम्मेलन हुनेछ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।