युवा व्यवसायी पौडेल हत्याको विरोधमा रुपन्देही बन्द

युवा व्यवसायी पौडेल हत्याको विरोधमा रुपन्देही बन्द

युवा व्यवसायी बसन्त पौडेलको हत्याको विरोधमा आज गरिएको रुपन्देही बन्दले जनजीवन प्रभावित भएको छ । युवा संघ तथा अनेरास्ववीयु रुपन्देहीले हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गरेको बन्दका कारण पूर्वपश्चिम राजमार्ग तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्ग ठप्प छ ।

बन्दकर्ताले चोकचोकमा अवरोध गरेपछि भित्री सडकमा पनि सवारीका साधन चलेका छैनन् भने बजार पसल तथा औद्योगिक प्रतिष्ठान समेत ठप्प छन् । बन्दको प्रभाव बुटवल, देवदह, खैरेनी लगायतका स्थानमा बढी छ ।   प्रहरी प्रशासनको कमजोरीका कारण युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएको १ वर्ष पछि फेरि अर्का युवकको हत्या भएको युवासंघको दाबी छ ।

यस्तै जिल्लामा क्रियाशिल राजनीतिक दल, व्यवसायीक संघसस्था र नागरिक समाजले समेत विज्ञप्ती निकालेर पौडेल हत्याको निन्दा गरेका छन् ।    यसैबीच संघीय प्रहरी इकाइ कार्यालय भैरहवाले पौडेलको हत्याबारे अनुसन्धान गर्न प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीको संयोजकत्वमा ७ सदस्यीय अनुसन्धान टोली गठन गरेको छ । टोलीले आजैदेखि काम सुरु गरेको प्रहरी नायव उपरीक्षक दिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

व्यवसायी पौडेलको हिजो बिहान करिब सवा ११ बजे देवदह २ ढेकाबारस्थित आफ्नै फर्निचर उद्योगमा बसिरहेका बेला मोटरसाइकलमा आएका २ जनाले गोली हानी हत्या गरेका थिए । घटना लगत्तै यसअघि सोही स्थानमै हत्या भएका युवासंघ रुपन्देहीका अध्यक्ष तिवारीको हत्याका मुख्य आरोपीत मनोज पुनले स्थानीयलाई टेलिफोन गरी हत्याको जिम्मा लिएका छन् ।