

काठमाडौं, १२ पुस । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ ।
आज भएको खेलमा निकटतम प्रतिस्पर्धी संकटा क्लबलाई ३–१ गोलले हराएको मनाङले दुई खेल खेल्न बाँकी रहने उपाधि जित्ने निश्चित गरेको हो । मनाङले प्रतियोगिताका सबै खेलमा जित हात पारेको छ ।
उसले ११ खेलबाट ३३ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको संकटा क्लबको ११ खेलबाट केवल २५ अंक छ । प्रतियोगितामा १४ टोली सहभागी छन् भने हरेक टोलीले १३ खेल खेल्छन् । मनाङ आठौँ पटक शहिद स्मारक ए डिभिजन लिग विजेता बनेको हो ।
यो प्रतियोगिता सर्वाधिक जित्ने टोलीको सुचीमा मनाङ शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको रानी पोखरी टिम–आरसिटीले ६ पटक उपाधि जितेको छ । शहिद स्मारक ए डिभिजन लिगमा अन्तिमपटक पनि मनाङ नै विजेता बनेको थियो । त्यसयता शहिद स्मारक लिग पहिलोपटक आयोजना भएको हो ।