

काठमाडौं, ११ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले आजको बैठकमा जवाफ दिनुहुनेछ ।
पुस ८ गते स्थगित गरिएको बैठक पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष दाहालले यसअघिको बैठकमा सरकार र पार्टीबारे उठेका जिज्ञासाको जवाफ दिएपछि सुझावसहित प्रतिवेदन पारित गरिनेछ ।
बैठकको पहिलो दिन अध्यक्षद्वय ओली र दाहालले संयुक्त रुपमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनको अध्ययनका लागि पुस १ गते एकदिन समय छुट्याइएको थियो ।
स्थायी कमिटीका सदस्यहरूले प्रतिवेदन अध्ययन गरिसकेपछि पुस २ गतेदेखि शुरु भएको बैठक पुस ८ गतेसम्म चलेको थियो । ती बैठकमा अध्यक्षद्वयको प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यहरूले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
बैठकमा अधिकांश सदस्यहरूले सरकार र पार्टी नेतृत्वको कामकारवाहीको समीक्षा गर्दै सुधारका लागि सुझाव दिनुभएको थियो । अध्यक्षद्वयसँगै पार्टीका सचिवालय सदस्य वामदेव गौतमले छुट्टै प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।