धुलो व्यवस्थापन सुस्त : राजधानीमा वायु प्रदूषण बढ्दो

धुलो व्यवस्थापन सुस्त : राजधानीमा वायु प्रदूषण बढ्दो

काठमाडौं २२ पुस ।  धुलो व्यवस्थापन सुस्त हुँदा जाडो बढेसँगै उपत्यकामा वायु प्रदूषणको दर बढेको छ । तत्काल व्यवस्थापन गर्न उच्च तहले पटक-पटक निर्देशन दिए पनि सम्बन्धित कार्यालयले व्यवस्थापनमा ढिलाइ गर्दा प्रदूषण बढेको खबर छेटु शेर्पाले अन्नपूर्ण पाेस्ट दैनिकमा लेखेका छन् ।

गत वर्ष राष्ट्रिय योजना आयोगले अनुगमन गरी धुलो व्यवस्थापन तत्काल गर्न निर्देशन दिएको थियो तर त्यसमा चासो नदिँदा उपत्यकावासीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ । डेढ महिनादेखि प्रधानमन्त्री कार्यालयले पहल गरे पनि प्रभावकारी रूपमा धुलो व्यवस्थापन हुन सकेको छैन । उपत्यकामा वायु प्रदूषणको मुख्य कारक बनेको धुलो व्यवस्थापन गर्न नसक्दा मानव स्वास्थ्यमा गम्भीर असर पर्न थालेको छ ।

काठमाडौं महानगर र सडक विभागसँग सहकार्य गरेर धुलो व्यवस्थापन गर्न लागिपरे पनि भनेजस्तो काम गर्न नसकेको द्रुत एक्सन टिमका संयोजक नारायण रेग्मीले बताए । सफा उपत्यका बनाउन सम्बन्धित कार्यालयलाई उत्साहित गरेर कार्ययोजना बनाउने लक्ष्यसहित काम सुरु गरेको उनले जानकारी दिए । प्रधानमन्त्री कार्यालयले भने तत्काल उपत्यकाका सबै ठाउँ र देशभरि नै धुलो उठाउन लागिपर्ने जनाएको छ ।

धुलो व्यवस्थापनमा सम्बन्धित निकायले चासो नदिँदा उपत्यकावासीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ ।

योजनाबिना जथाभावी मर्मत र मेलम्चीको पाइप गाड्न भन्दै सडक खनिएपछि धुलो बढेको पाइएको छ । भत्काउनुअघि नै कार्ययोजना बनाएर मात्र काम अघि बढाउनुपर्ने द्रुत एक्सन टिमको सुझाव छ । उपत्यकाको अवस्थालाई हेरेर सडकको धुलो उठाउनुपर्ने, भत्काइएका सडक तत्काल कालोपत्रे गर्नुपर्ने रेग्मीको भनाइ छ ।

चार वर्षयता काठमाडौंको वायु प्रदूषण विकराल बन्दै गएको छ । राष्ट्रिय मापदण्डभन्दा पाँच गुणासम्म वायु प्रदूषण हुने गरेको तथ्यांक छ । महानगरले डेढ महिनादेखि ११ सय ९४ टन धुलो संकलन गरी टेकुमा व्यवस्थापन गरिसकेको प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।

सुन्धारा, न्युरोड, रत्नपार्क, जमल, लैनचौर, भद्रकाली, सहिदगेट, सिंहदरबार, पुतलीसडक, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर, सिंहदरबार परिसर क्षेत्रमा धुलो उठाइसकेको महानगरका वातावरण व्यवस्थापन विभाग कार्य सञ्चालन शाखा प्रमुख मीनबहादुर थापाले बताए । तर टेकु, कलंकी, जोरपाटीलगायत क्षेत्रमा भने धुलो व्यवस्थापन हुन सकेको छैन ।