काठमाडौं, ३ पुस । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठकमा आज पनि नेतृत्वको आलोचना भएको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेको संयुक्त राजनीतिक प्रतिवेदनमाथि भएको छलफलका क्रममा स्थायी कमिटीका सदस्यले नेतृत्वको कार्यशैलीलाई लिएर आलोचना गरेका हुन् ।
सरकार र पार्टी सञ्चालनमा गम्भीर असहमति व्यक्त गर्दै उनीहरुले प्रधानमन्त्री ओलीको सरकार सञ्चालन प्रक्रिया राम्रो नभएको र त्यसले पार्टीलाई दीर्घकालीन असर पार्ने चेतावनी समेत दिएका छन् । आज बोल्ने ८ जना स्थायी कमिटी सदस्यमध्ये केहीले भने नेतृत्वको बचाउ गरेका थिए ।
बैठकमा नेता भीम रावलले १४ पृष्ठ लामो विचार टिप्पणी र सुझाव पेस गर्दै नेतृत्वको कार्यशैली सुधार गर्नुपर्ने बताउनुभयो । नेता योगेश भट्टराईले पार्टी नेतृत्वको कार्यशैली मापदन्ड अनुसार नभएको र एकलौटी ढंगले अगाडि बढेकाले त्यो रोकिनुपर्ने बताउनुभयो ।
आजको बैठकमा केशव बडाल, टोपबहादुर रायमाझी, शंकर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ अधिकारी, पृथ्वी सुब्बा गुरुङले पनि आफ्नो विचार राखेका थिए । शनिबारदेखि सुरु भएको बैठकमा अध्यक्षद्वयको प्रतिवेदनमाथि हिजो भएको छलफलमा नेता वामदेव गौतम र घनश्याम भुसालले नेतृत्वको चर्को आलोचना गरेका थिए ।