काठमाडौँ, पुस ३ गते । इटालियन ठेकेदार कम्पनी सीएमसीले आफू आर्थिक रूपमा ‘टाट पल्टेको’ घोषणा गर्दै काम छाडेपछि बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको काम सोमबारदेखि ठप्प भएका छन् । मेलम्ची खानेपानी अायाेजनाकाे सुन्दरीजलस्थित सुरुङ अखिल्तिर अलपत्र निर्माण सामग्री । यो खबर आजको कान्तिपुर दैनिकबाट लिएका हौं ।
यसले अबको ४६ दिनभित्र निर्माण सकी मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडाैं ल्याइसक्ने खानेपानी मन्त्रालय र आयोजनाको पूर्वघोषित लक्ष्य अन्योलमा परेको छ। सुरुङको फाइनल फिनिसिङलगायत काम रोकिएपछि अब आयोजना कहिले सम्पन्न हुने भन्ने अनिश्चित भएको छ।
साइट छाडेर भाग्न राजधानी आइपुगेका ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजर क्रिस्चियानो ग्रेचोसहित आठ कर्मचारीलाई खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिको आग्रहमा प्रहरीले आइतबार राति नियन्त्रणमा लिएको छ। उनीहरूको पासपोर्टसमेत आयोजनाले नियन्त्रणमा लिएको छ। यो खबर आजको कान्तिपुर दैनिकबाट लिएका हौं ।