‘लिलिबिली’ रिलिज दुई हप्ता धकेलियो

‘लिलिबिली’ रिलिज दुई हप्ता धकेलियो

फिल्म ‘लिलिबिली’को रिलिज दुई हप्ता धकेलिएको छ । पुर्व निर्धारित मिति आगामी चैत्र ३० मा फिल्म रिलिज नहुने पक्का भएको छ । वितरक तथा निर्माता मध्येका एक गोविन्द शाहीले फिल्मको रिलिज मिति धकेलिएको पुष्टी गरेका छन् । अब यो फिल्म नयाँ बर्ष २०७५ को बैशाख १४ मा रिलिज हुनेछ ।

पोष्ट प्रोडक्सनको काममा ढिलाइ हुने देखिएकोले रिलिज सरेको गोविन्दको कथन छ । तर फिल्मको रिलिज सर्नुमा साउथ सुपरस्टार रजनिकान्त र वलिउड स्टार अक्षयकुमार स्टारर फिल्म ‘रोबोट २.0’ को रिलिज सँगसँगै पर्नु हो । चैत्र ३० अर्थात अङग्रेजी महिना अनुसारको अप्रिल १४ मा यो फिल्म रिलिज हुँदैछ । नयाँ बर्षमा हाउसफुल बन्ने नेपाली मल्टिप्लेक्समा दर्शकको पहिलो रोजाइ रोबोट पर्नसक्ने कुराबाट निर्माण टिम सचेत हुँदै ‘लिलिबिली’ रिलिज पर सारिएको अनुमान छ ।

मिलन चाम्सको निर्देशनमा बनेको फिल्मको सम्पुर्ण छायाँकन युरोपमा गरिएको छ । फिल्मको छायाँकन सकाएर केहि दिन पहिले मात्रै निर्माण टिम तथा कलाकारको टिम नेपाल फर्केको छ । फिल्ममा प्रदिप खड्का, प्रियंका कार्की, अनुपबिक्रम शाहि, सविन श्रेष्ठ, जसिता गुरुङ लिड रोलमा छन् ।

काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भैरहेको फिल्ममा गोविन्द शाहीसँगै सुदिप खड्का र निर्देशक चाम्सको पनि लगानी छ ।