

बलिउड अभिनेत्री मनिषा कोइरालाको आत्मवृत्तान्त ‘हिल्ड’ यही पुसमा बजारमा आउने भएको छ । पुसमा आयोजना हुने लिटिरेचन फेष्टिबलमा अभिनेत्री कोइरालाको सो पुस्तक विमोचन गर्ने कार्यक्रम तय गरिएको छ ।
कोइरालाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो आत्मवृत्तान्त ‘हिल्ड’ पुसमा बजारमा आउन लागेको जानकारी गराएकी हुन् । मनिषा भन्छिन् –‘क्यान्सरको बिरामी भएपछि मेरो किताब लेखनको शुरुवात भयो । बिरामी हुँदा भोगेको अनौठो, नयाँ र पीडादायी अनुभव सार्वजनिक गर्नुपर्छ भन्ने लागेर ‘हिल्ड’ HEALED पुस्तक लेखेकी हुँ । यस पुस्तकका सहलेखक नीलमकुमार पनि क्यान्सर सर्भाइभर हुनुहुन्छ ।
बाल्यकाल, बलिउडको करिअर र जीवनको अन्य पक्षलाई यो पुस्तकमा समेटेकी छैन । म पछिल्लो विगतलाई बिर्सन चाहन्नथेँ । जसले भोगेको छ, उसैले व्यक्त गर्दाको अनुभव बाँड्न चाहेकी हुँ ।’
क्यान्सरविरुद्धको लडाईँको विषय समेटिएको सो पुस्तक सबैका लागि उपयोगी हुने विश्वासका साथ आफूले पुस्तक लेख्नु परेको उनको भनाई छ । पुस्तकमा क्यान्सर रोग निदानका लागि आफूले कसरी शारिरीक, मानसिक तथा संवेगात्मक लडाई लड्नु पर्यो भन्ने विषय समेटिएको कोइरालाले बताइन् ।
क्यान्सरबाट मुक्त भएपछि के भयो र अहिले के गरिरहेकी छु भन्ने पनि उल्लेख पुस्तकमा उल्लेख गरेको कोइरालाले बताइन् । उनले भनिन् कसैलाई उपदेश दिन वा ज्ञान बाँड्नका लागि पुस्तक लेखेकी होइन ।अभिनेत्री कोइरालाले भारतीय लेखक निलम कुमारसँगको सहकार्यमा यो पुस्तक तयार पारेकी हुन् ।