

काठमाडौं, २ पुस । नेपाली कांग्रेसको जारी महासमिति बैठकको मुख्य एजेण्डा विधान संशोधन प्रस्ताव आज सोमबार पेश गर्ने तयारी गरिएको छ । विधान संशोधन मस्यौदामाथि केन्द्रिय कार्यसमिति भित्र मतभिन्नता रहेको कारण महासमिति बैठक शुरु भएको तीन दिन सम्ममा पनि यो प्रस्ताव पेश हुन सकेको थिएन । महासमितिमा प्रस्तुत गरिने प्रस्ताव केन्द्रिय समितिले पारित गर्नुपर्छ । कांग्रेसको विधानमा सभापतिसहित ८ जना पदाधिकारी राख्ने बिषयमा नेताहरुबीच सहमति भएको छ।
राजधानीमा जारी महासमिति बैठकमा राजनीतिक, आर्थिक र सांगठनिक प्रतिबेदनमाथि छलफल भइरहँदा हिजो सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा नेताहरुबीच भएको छलफलमा यस्तो सहमति भएको हो।
विधानलाई सहमतिमा टुंग्याउँन गठित समितिका सदस्यहरुको अबेरसम्म बसेको बैठकले एकजना सभापति, दुईजना उपसभापति, दुईजना महामन्त्री, दुईजना सहमहामन्त्री र एकजना कोषाध्यक्ष राख्ने सहमति जुटाएको हो। विधानलाई सहमतिमा पुर्याउने समितिमा उपसभापति विमलेन्द्र निधि, अर्जुननरसिंह केसी, बिधान मस्यौदा समितिका तर्फबाट संयोजक समेत रहेका महामन्त्री पूर्णबहादुर खड्का तथा सदस्यद्धय मीनेन्द्र रिजाल र रमेश लेखक छन्।
यो समितिले बिधानमा सहमति जुटाउनका लागि पछिल्लो ३ दिनदेखि लगातार छलफल गर्दै आएको थियो। छलफलबारे उपसभापति निधि, महामन्त्री खड्का र नेता लेखकले सभापति देउवालाई जानकारी गराएका थिए भने केसी र रिजालले बरिष्ठ नेता पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, रामशरण महत लगायतका नेताहरुलाई अबगत गराउँदै आएका थिए। यसैगरी बिधानलाई सहमतिमा पुर्याउन गठित सो समितिले पार्टीमा क्रियाशील र साधारण गरी दुई किसिमको सदस्यता रहने, वडा तहबाट न्यूनतम १५ जना क्षेत्रीय प्रतिनिधि हुने, जिल्ला समन्वय समिति नभई जिल्ला कार्य समिति नै हुने, प्रादेशिक निर्बाचन क्षेत्रबाट १७ जनाका दरले प्रतिनिधि रहने तथा संसदीय समितिबाट २५ जना महाधिबेशन प्रतिनिधि रहने बिषयमा सहमति गराएको छ।
यसैबीच महासमिति बैठकमा आइतवार पार्टीको सांगठनीक, राजनीतिक र समग्र आर्थिक नीति लगायतका प्रस्ताव पेश भएको थियो । पेश भएका प्रस्तावमाथि प्रदेश स्तरीय सात समुह बनाई छलफल गरिने बताइएपनि बैठकमा समय मागेर बोल्ने क्रम जारी रहेको छ । आइतवार साझ अवेर सम्म १ सय ५० जना जति महासमिति सदस्यहरुले धारणा राखेका थिए । पुस ३ गते सम्म चल्ने भनिएको महासमिति बैठकमा मुख्य एजेण्डा नै प्रस्तुत नहुदा बैठक लम्बिने सम्भावना बढेको छ ।