

काठमाडौं, १ पुस । नेपाली काँग्रेसले संघीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठकको बन्दसत्र जारी छ ।
कांग्रेसको जारी महासमिति बैठकमा प्रस्तुत चारवटै प्रतिवेदनमाथि सहभागी सबै सदस्यले आफ्नो धारणा राख्न पाउने भएका छन् ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रत्येक सदस्यलाई आफ्नो धारणा राख्नका लागि ४ मिनेटको समय दिइने भएको जानकारी दिनुभयाे ।
शनिबार सुरु भएको महासमितिको बैठकमा उपसभापति बिमलेन्द्र निधिले राजनीतिक प्रस्ताव, महामन्त्री शशांक कोइरालाले सांगठनिक, आर्थिक कोषाध्यक्ष सीतादेवी यादवले आर्थिक प्रतिवेदन, सहमहामन्त्री डा. प्रकाशशरण महतले आर्थिक नीतिसम्बन्धी प्रतिवेदन पेश गर्नुभएकाे छ ।
केन्द्रीय समितिमा प्रस्तुत गरिएको प्रतिवेदनमाथि ७७ जिल्लाका सभापति तथा १ सय ६५ वटै संसदीय क्षेत्रका प्रतिनिधिले धारणा राख्ने छ । अहिलेसम्ममा २३ जना भन्दा बढिले आफ्नो धारणा राखिसकेको प्रवक्ता शर्माले जानकारी दिनुभयाे ।
बैठकमा बोल्ने अधिकांश सदस्यले राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्दै सरकारप्रति नरम रहेको र सच्याउन आग्रह गरेका छन् । पाटीभित्र गुट–उपगुट मौलाएको टिप्पणी गरेका वक्ताहरुले हरेक विषयमा कांग्रेस प्रष्ट हुनुपर्नेमा जोड दिएको पनि प्रवक्ता शर्माले जानकारी दिनुभयाे । बैठकमा देशभरिका करिब १७ सय महासमिति सदस्यको सहभागिता रहेको छ ।