

काठमाडौं, २९ मंसिर । नेपाल कम्युनिस्ट पार्टी, नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठकमा आज पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको राजनीतिक अवस्था तथा सरकार सञ्चालनको विषयमाथि आफ्नो धारणा राख्नुभयो भने अर्का अध्यक्ष प्रचण्डले दुवै अध्यक्षका तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्नुभयो ।
तर राजनीतिक प्रतिवेदनलाई लिएर नेता बामदेव गौतमले लिखित सुझावसहित फरक मत राख्नुभएको छ । ८ बुँदे राजनीतिक प्रतिवेदन र नेता गौतमको फरक मतसहितको सुझाव अध्ययनका लागि सबै सदस्यलाई वितरण गरिएको छ ।
अर्को बैठक पर्सि बस्ने छ । सरकार र पार्टी सञ्चालन, पार्टी एकीकरणको अवस्था, आगामी राजनीतिक कार्यभारलगायत विषय समेटिएको राजनीतिक प्रतिवेदनमाथि अध्ययन गरेर अर्को बैठकमा छलफल हुनेछ । पार्टी एकतापछि पहिलो पटक निर्धारित समयमा नै सुरु भएको बैठक दुई घन्टामात्र चलेको थियो । पर्सि बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा नै बैठक बस्नेछ ।
यसअघि आज बसेको सचिवालय बैठकले स्थायी कमिटीको बैठकका लागि कार्यसूची तय गरेको छ । सचिवालयको बैठकले साङ्गठनिक एकीकरणलाई तत्काल टुङ्गोमा पु¥याउने, पार्टी र सरकारको कामलाई थप व्यवस्थित बनाउने र आगामी कार्यदिशा तय गर्ने विषयमा निर्णय गरेको हो ।