तीनवटा ग्यास उद्योग (सगर ग्यास, सूर्य ग्यास र चण्डी ग्यास) बन्द

तीनवटा ग्यास उद्योग (सगर ग्यास, सूर्य ग्यास र चण्डी ग्यास) बन्द

काठमाडौं, २१ पुस– ग्यास उद्योगमाथि कडाई गर्ने कदम चालेको पहिलो दिन नै सरकारले तीन वटा उद्योग सञ्चालनमा रोक लगाएको छ । नेपाल नापतौल तथा गुणस्तर विभागले अनुगमन सुरु गरेको पहिलो दिन शुक्रबार काभ्रेका तीन वटा ग्यास उद्योग बन्द गर्न निर्देशन दिएको हो ।

शुक्रबार अनुगमनका लागि काभ्रे पुगेको विभागको टोलीले जिल्लामा सञ्चालित तीन वटै ग्यास उद्योग सञ्चालनमा रोक लगाएको विभागका प्रशासन तथा उद्योग विभाग महानिर्देशक विश्वबाबु पुडाशैनीले जनाकारी दिए ।

उनका अनुसार काभ्रेको बनेपा स्थित थापागाउँमा रहेको सगर ग्यास (सगरमाथा ग्यास उद्योग), सूर्य ग्यास र चण्डेश्वरी ग्यास उद्योग (चण्डी ग्यास) को उत्पादन र विक्रि वितरण गर्न रोक लगाइएको हो ।

सरकारको गुणस्तर चिह्न  (एनएस) र सरकारी मापदण्डलाई मिच्दै विग्रिएका पुराना र ग्यास लिक भएका सिलिन्डर बजारमा पठाएको गुनासो बढेपछि अनुगमनमा कडाई गरेको हो  ।

तर, उद्योगीहरुले भने गुणस्तर चिह्न एनएस लिने प्रक्रियामा रहेको अवस्थामा सरकारले एकतफी ढंगले उद्योग बन्द गर्न निर्देशन दिएको आरोप लगाए । नेपाल ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले मापदण्डमा कडाई गरेर समय दिनुको सट्टा धमाधम उद्योग बन्दको चेतावनी दिनु गलत भएको तर्क गरे ।

सरकारले पछिल्लो समय ग्यास सिलिण्डर विस्फोटनका घटना बढ्नुमा उद्योगको लापरवाही नै प्रमुख कारण भएको भन्दै बोटलिङ प्लान्टमाथि कडाई गरेको हो ।
गुणस्तर तथा नापतौल विभागले गुणस्तर मापदण्ड (एनएस) चिह्न नलिने ग्यास उद्योगलाई बन्द गर्ने चेतावनी दिएको थियो ।