कांग्रेस महासमिति बैठक आजबाट

कांग्रेस महासमिति बैठक आजबाट

काठमाडौँ, २९ मंसिर । नेपाली कांग्रेसको बहुप्रतीक्षित महासमिति बैठक आजबाट काठमाडौंमा सुरु हुँदै छ । महासमितिलाई पार्टीको नीति–निर्माण गर्ने शक्तिशाली वैचारिक थलोका रूपमा लिइन्छ ।

सिंहदरबारअगाडिको यलम्बर पार्टी प्यालेसमा हुने महासमिति बैठकको सभापति देउवाले बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम छ । महासमितिमा भाग लिन देशभरबाट सदस्यहरू राजधानी आइसकेका छन् । कांग्रेसका निर्वाचित महासमिति सदस्य मात्रै करिब १२ सय छन् ।

जिल्ला सभापति, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिलाई पनि महासमिति बैठकमा सहभागी गराउने तयारी छ । तत्कालीन फोरम लोकतान्त्रिक र कांग्रेसबीचको सहमतिअनुसार उपसभापति विजयकुमार गच्छदार समूह र विदेशस्थित जनसम्पर्क समितिबाट समेत गर्दा बैठकमा करिब १५ सयको सहभागिता हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

महासमिति बैठकमा गत प्रतिनिधिसभा चुनावको पूर्वसन्ध्यामा कांग्रेसमा विलय भएको फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसहित २ सय जनालाई महासमिति सदस्य र १ सय जनालाई पर्यवेक्षकका रूपमा सहभागी गराइने भएको छ ।

महासमिति बैठकमा सहभागी सदस्यको रजिस्ट्रेसन र दस्ताबेज वितरण कार्य भने शुक्रबारै केन्द्रीय कार्यालयबाट गरिएको थियो । दिउँसो २ बजेदेखि वितरण गर्ने तालिकाअनुसार सदस्यहरू लामबद्ध बनेका थिए । दस्ताबेज छापेर आउन ढिलाइ भएका कारण सदस्यको रजिस्ट्रेसनसमेत साँझबाट मात्रै सुरु भएको थियो ।

राजनीतिक प्रस्ताव शुक्रबार मात्रै पारित गरिएको थियो । २८ गते हुनुपर्ने महासमिति बैठकको उद्घाटन २९ गते सारिएकाले एक दिन लम्बिने भएको छ । अब पुस १, २, ३ र ४ गतेसम्म बन्दसत्र गर्ने तयारी छ ।