कांग्रेस महासमिति बैठक आजदेखि

कांग्रेस महासमिति बैठक आजदेखि

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेस महासमिति भेला आजदेखि काठमाडौंमा सुरु हुने भएको छ । प्रक्रियागत हिसाबले आज सुरु भएपनि उद्घाटन भने भोलि हुनेछ । महासमिति बैठकमा सहभागीले आज पार्टी मुख्यालय सानेपामा २ देखि ५ बजेसम्म रजिस्ट्रेसन गराउनुपर्नेछ ।

सवा दुई घण्टाको उद्घाटन सत्रपछि भोलि दिउँसो बन्दसत्र सुरु हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार भेलामा विभिन्न पाँच प्रतिवेदन पेश हुनेछ । विधानमा भने सहमति जुटिसकेको छैन ।

उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन, महामन्त्री शशांक कोइरालाले संगठन सम्बन्धी, अर्का महामन्त्री तथा विधान मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले पार्टीको नयाँ विधान मस्यौदा प्रतिवेदन, सहमहामन्त्री प्रकाशशरण महतले पार्टीको आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले कोष तथा लेखासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रतिवेदन भेलामा सहभागी सदस्यको प्रदेशस्तरीय समूह बनाएर छलफल गराइने छ । प्रदेशस्तरीय समूहमा सहभागीको समिति बनेपछि पुस १ देखि प्रतिवेदनमाथि छलफल हुनेछ । विधान मस्यौदा पेश भएपछि मंसिर १३ देखि छलफल थालेको केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बोलाइएको छ । महासमिति भेलामा १६ सय प्रतिनिधि सहभागी हुँदैछन् ।

महासमिति बैठक तथा सम्मेलनहरू

वैरगिनियाँ सम्मेलन, भारत (२००७, असोज)
विशालनगर, काठमाडौँ (२००९ भदौ)
नेपालगञ्ज, बाँके (पुस, २०१०)
वीरगञ्ज, पर्सा (२०१४)
पटना, भारत (२०३४, असोज)
चाक्सीबारी(काठमाडौँ) सम्मेलन (२०४६ माघ ५–७)
नारायणगढ, चितवन (२०४९ माघ)
पोखरा, कास्की (२०५१ फागुन)
नेपालगञ्ज, बांके (२०५४ कात्तिक)
बीपीनगर, ललितपुर (२०६४ असोज)
कमलादी, काठमाडौं (२०६६ कात्तिक)
सिंहदरबार अगाडि, काठमाडौं (२०७५ मङ्सिर २८ देखि पुस ३ सम्म)