काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसको विधानको मस्यौदा र राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन आज पारित हुने भएको छ ।
बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसमितिको बैठकबाट उपसभापति बिमलेन्द्र निधिले पेस गर्नुभएको राजनीतिक तथा साङ्गठिक प्रतिवेदन पारित गर्ने तयारी भएका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । प्रतिवेदनको बारेमा जारी छलफल अन्तिम चरणमा पुगेकाले बिहानको छलफलपछि पारित गरिने उहाँको भनाइ छ ।
नेता महतका अनुसार आज साँझसम्ममा पार्टीको विधान पनि पारित गर्ने तयारी भएको छ । पार्टीको महासमिति बैठकमा पेश गर्ने भएका कारण विधानको बारेमा आजै सहमति जुटाउने कसरतमा नेताहरु जुटेका छन् । भोलिबाट सुरुहुने महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको काँग्रेसले जनाएको छ ।