काठमाडौँ, २६ मंसिर । संवैधानिक परिषदको आजका लागि बोलाइएको बैठक पनि बस्दै नबसि स्थगित भएको छ। आज बिहान ९ बजेका लागि बैठक बोलाइए पनि प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि बैठक स्थगित भएको हो।
प्रधानन्यायाधीश सिफारिस आजै गर्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार निवासमा बिहान परिषद बैठक बोलाउनु भएको थियो । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालाई हिजाे राति ९ बजेमात्र बैठककाे जानकारी दिएकाेले देउवा बैठकमा जान नभ्याएको स्राेतले बताएकाे छ । तेस्रो पटक आवहान गरिएको बैठक आज बस्न नसकेकोपछि भोलि बिहान ९ बजे बैठक बस्ने राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिनुभयो ।
संवैधानिक परिषदको बैठकमा नयाँ प्रधानन्यायाधीश सिफारिस र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पदाधिकारी सिफारिसको कार्यसूची तय भएको छ ।
न्याय परिषदले वरिष्ठतम न्यायाधीश दीपकराज जोशी र चोलेन्द्र शमशेर जबराको नाम सिफारिस गरेको छ । संवैधानिक परिषदले गरेको सिफारिसपछि संसदीय सुनुवाइ हुनेछ ।
प्रधानन्यायाधिश रिक्त हुनु एक महिनाअघि नयाँको नाम सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रधानन्यायाधिश ओमप्रकाश मिश्र उमेर हदका कारण पुस १७ गते अवकाश हुनु हुनेछ ।