काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा आज राजनीतिक प्रस्ताव पेस हुने भएको छ । आजको बैठकमा राजनीतिक प्रस्ताव पेस गरी आजैबाट छलफल सुरु गर्ने तयारी भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानाकारी दिनुभयो ।
केन्द्रीय कार्यसमितिमा उपसभापति बिमलेन्द्र निधि संयोजकत्वको समितिले राजनीतिक प्रस्ताव तयार पारेको हो । हिजोको केन्द्रीय कार्यसमिति बैठकले आर्थिक नीतिसहितको प्रतिवेदन पारित गरेको थियो । सहमहामन्त्री प्रकाशशरण महत संयोजकत्वकोे समितिले आर्थिक नीति तयार पारेको थियो ।
पार्टीको समग्र आर्थिक नीति प्रस्ताव समितिका तर्फबाट सहमहामन्त्री एवं समितिका संयोजक डा. प्रकाशशरण महतले यही १९ गतेको बैठकमा प्रस्तुत गर्नुभएको प्रस्ताव आज छलफलपछि पारित भएको हो । उहाँले केही सुझावसहितको नीति बैठकको सर्वसम्मतिले पारित गरेको बताउँदै उच्च उत्पादकत्वमा आधारित दिगो र फराकिलो आर्थिक वृद्धिलाई आर्थिक नीतिमा केन्द्रित गरिएको जानकारी दिनुभयो ।
काङ्ग्रेसले आर्थिक वृद्धिसहितको समानता हासिल गर्ने लक्ष्यलाई यथावत् स्वीकार्दै ती लक्ष्य प्राप्त गर्ने तरिकामा समयसापेक्ष गतिशीलता अपनाउने नीति लिएको छ । बैठकबाट पारित आर्थिक नीति आगामी मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुने पार्टीको महासमिति बैठकमा पेश गरिनेछ ।