

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार हुनै नदिने बताउनुभएको छ । भ्रष्टाचार नियन्त्रणका लागि आफुले कोसिस गरिरहेको उहाँले बताउनुभयो ।
भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने आफ्नो प्रतिवद्धता भने शतप्रतिशत कार्यान्वयनमा आएको दावी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने कुरामा ढुक्क हुन पनि पटक–पटक आग्रह गर्नुभयो । उहाँले भ्रष्टाचार हुन नदिन शून्य सहनशीलताको नीतिलाई निर्मम ढंगले कार्यान्वयन गराउने दृढता पनि पुनः दोहोर्याउनुभयो ।
प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणका लागि कडा कदम चाल्न सम्बन्धित निकायलाई सचेत समेत गराउनुभयो । प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्न सजिलो नभएको भन्दै उहाँले नैतिक बन्धन, कर्तव्यको बन्धन भित्र पारेर भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।