मौसमः काठमाडौंमा चिसो बढ्यो

मौसमः काठमाडौंमा चिसो बढ्यो

काठमाडौं, २० मंसिर । काठमाडौं उपत्यकामा मौसम चिसिएको छ । वायु प्रदुषण तथा पश्चिमी हावाको प्रभावका कारण केही दिनयता काठमाडौँ उपत्यकालगायत मुलुकभरि नै चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमी प्रभाव तथा पश्चिमी हावाका कारण दिउँसो बादल लाग्दा चिसो बढ्दै गएको मौसमविद्हरुले बताएका छन् । मुलुकभरिकै तापक्रम घट्ने क्रममा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको तापक्रम ६ डिग्रीसम्म पुगेको छ ।

हिजो न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस थियो । विगतझैँ यस वर्ष पनि काठमाडौँ उपत्यकाको तापक्रम शून्य डिग्री सेल्सियसमा झर्ने अनुमान महाशाखाको छ । उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षासमेत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।