धेरै कमाउने लोभमा केन्यामा यसरी बेचिन्छन् नेपाली चेली

धेरै  कमाउने लोभमा केन्यामा यसरी बेचिन्छन्  नेपाली चेली

काठमाडौँ, २१ पुस -अफ्रिकी मुलुक केन्याबाट उद्धार गरिएका सात नेपाली महिला त्यहाँस्थित अवैतनिक दूतावासको सम्पर्कमा पुगेका छन् । भारतीय हाइकमिसनको आग्रहमा केन्याली प्रहरीले तीन भारतीय र सात नेपाली महिलालाई उद्धार गरेकामा उनीहरू अवैतनिक दूतावासको सम्पर्कमा पुगेका हुन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सात नेपाली महिलासहित तीन भारतीयलाई केन्यासम्म फैलिएको मानव तस्करको जालोबाट उद्धार गरिएको भनी ट्वीट गरेपछि यो विषय बाहिर आएको हो ।

केन्यास्थित नेपाली वाणिज्यदूत जिमी अस्कले उद्धार गरिएका सबै नेपाली महिला अवैतनिक दूतावासको सम्पर्कमा आएको दक्षिण अफ्रिकास्थित नेपाली दूतावासमार्फत परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका छन् ।

केन्यासमेत हेर्ने दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृतबहादुर राईले उद्धार भएका युवतीहरूसँग कन्सुलर सम्पर्कमा रहेको जानकारी दिए ।

दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले हरेक महिना सातभन्दा बढी नेपाली चेलीलाई उद्धार गर्दै आएको छ । तिनीहरूलाई एजेन्टबाट तथा पीडितकै परिवारबाट टिकट मगाएर स्वदेश फर्काइने गरिएको छ । यस्तै कतिपयलाई केही दिनसम्म दूतावासमा राखेर पनि सरकारी खर्चमा फर्काइने गरिएको छ ।
थोरै खर्च गरेर धेरै रकम कमाउने लोभमा नेपाली चेलीहरू केन्याको रेस्टुरेन्ट, डान्सबारमा बेचिने गरेका छन् । मानव तस्करी नियन्त्रण गर्न दूतावासले लामो समयदेखि प्रयास गरे पनि कारबाही हुन सकेको छैन ।
केन्या तथा अन्य अफ्रिकी मुलुकको कमजोर कानुन र त्यहाँको प्रहरी प्रशासनकै संरक्षणमा नेपालीसहित दक्षिण एसियाली मुलुकका चेली बेचिने गरेका छन्, कान्तिपुरमा खबर छ ।