काठमाडौं, १७ मंसिर । मंसिर २८ देखि पुष ३ सम्म काठमाडाैमा हुने नेपाली कांग्रेसको महासमिति बैठकमा प्रस्तुत गरिने राजनीतिक प्रस्ताव तयार भएको छ।
कांग्रेस नेता नरहरि आचार्यको संयोजकत्वमा गठित समितिले राजनीतिक मस्यौदा लेखनको काम पूरा गरेको हो। मस्यौदा लेखन समितिका सदस्यसमेत रहेका नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालका अनुसार मंगलबारसम्म राजनीतिक प्रस्तावलाई मूल समितिमा पठाइनेछ। ‘समितिका तर्फबाट राजनीतिक प्रस्ताव तयार पारिएको छ’ दाहालले भने ‘भोलिसम्म हामी यो प्रस्ताव मूल समितिलाई बुझाउँछौं।’
कांग्रेस उपसभापति विमलेन्द्र निधि संयोजक रहेको १७ सदस्यीय राजनीतिक प्रस्ताव मस्यौदा समितिले सातवटै प्रदेशमा पुगेर राजनीतिक प्रस्तावमा समेट्नु पर्ने बिषयबारे मंसीर पहिलो साता सुझाब संकलन गरेर आएको थियो।
सातवटै प्रदेशबाट प्राप्त सुझाबलाई समेटेर राजनीतिक प्रस्ताव तयार पारिएको छ। जसमा नेपाली कांग्रेसको दर्शन, वर्तमान सरकारप्रतिको दृष्टिकोण, अन्य राजनीतिक दलप्रति कांग्रेसको धारणा, परराष्ट्र नीति लगायतका बिषयलाई राजनीतक प्रस्तावमा समेटिएको छ।
मूल समितिले तयार पारेको राजनीतिक मस्यौदा केन्द्रीय समितिबाट पारित भएपछि महासमिति बैठकमा प्रस्तुत गरिनेछ।