तेक्वान्दोको जिल्ला छनोट रोक्न राखेपको निर्देशन

तेक्वान्दोको जिल्ला छनोट रोक्न राखेपको निर्देशन

काठमाडौं, १७ मंसिर । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तेक्वान्दोको जिल्ला छनोट रोक्न जिल्ला खेलकूद विकास समितिलाई निर्देशन दिएको छ । तेक्वान्दोमा दुई संघ अस्तित्वमा रहदा काम गर्न नसकिने निष्कर्श सहित राखेपले राष्ट्रिय खेलकुदको जिल्ला छनोटमा तेक्वान्दोलाई समावेश नगर्न निर्देशन दिएको हो ।

प्रदेश नम्बर ५ मा हुने आठौँ राष्ट्रिय खेलकुदको जिल्ला छनोट अहिले चलिरहेको छ । राखेपले मंसिर १४ देखि २१ सम्म सम्पूर्ण खेलको जिल्ला छनोट सक्ने गरि कार्यतालिका सार्वजनिक गरेको थियो । राखेपले दुई संघ एक नहुदाँसम्म राष्ट्रिय खेलकुदमा तेक्वान्दोलाई सहभागी नगराउने स्पष्ट पारेको छ ।

राखेपको १ सय १० औँ बोर्ड बैठकले तेक्वान्दो विवाद समाधान गर्न आग्रह गर्दै दुवै संघलाई एक साताको समय दिएको थियो । तर दुवै संघ आ–आफ्नै अडानमा कायम रहदा औपचारिक वार्ता प्रक्रिया समेत अघि बढ्न सकेको थिएन । दुवै संघ नमिल्दा छुट्टै कमिटि गठन गरेर तेक्वान्दोलाई अघि बढाउने तयारी युवा तथा खेलकुद मन्त्रालयको छ ।