काठमाडौँ, १७ मंसिर । प्रधानमन्त्री केपी ओलीले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न सोमबार संवैधानिक परिषद् बैठक बोलाएका छन । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुस १७ गते अनिवार्य अवकाश पाउँने भएपछि त्यसअघि नै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न आज परिषद् बैठक बोलाइएको हो ।
बैठकले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नेछ । न्याय परिषद्ले एक साताअघि नै प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रशमशेर राणाको नाम संवैधानिक परिषद्लाई बुझाएको छ ।
प्रधानन्यायाधीश हुन सर्वोच्चमा तीन वर्ष न्यायाधीश भइसकेको व्यक्ति हुनुपर्ने संवैधानिक व्यवस्था छ । जोशी र राणाबाहेक अरू न्यायाधीशको उक्त योग्यता पुगेको छैन । परिषद्ले संविधानबमोजिम पद रिक्त हुनु एक महिनाअघि नै प्रधानन्यायाधीश सिफारिस गर्न लागेको हो ।
परिषद्मा नाम बुझाइएका दुई वरिष्ठतम न्यायाधीशमध्ये जोशी यसअघि संसदको सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत हुनुभएको थियो । न्याय परिषद्ले सिफारिस गर्दा वरिष्ठतम न्यायाधीश जोशीको नाम पहिलो नम्बरमा राखे पनि कैफियतमा ‘यसअघि सुनुवाइ समितिबाट अस्वीकृत’ भन्ने उल्लेख गरेको छ । सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नुहुने छ ।