काठमाडौँ, १७ मंसिर । निर्मला पन्तको बलात्कारपछि गरिएको हत्यामा न्याय खोज्दै वाग्लुङका महिलाहरु सडकमै सुतेका छन् । नेपाल महिला संघको अगुवाईमा सदरमुकामस्थित बाघचोकमा भेला भएका झण्डै दुई सय महिला सडकमै सुतेका हुन् ।
एउटी अबोध बालिकाले न्याय नपाएपछि दवावस्वरुप सडकमै सुतेका हौं’ संघकी अध्यक्ष शकुन्तला शर्माले भनिन, ‘दैनिक भइरहेका बलात्कारका दोषीलाई राज्य संयन्त्रले संस्थागत रुपमै उम्काउने प्रयास गरिरहेको छ ।’ यस्ता घटनामा राज्य संयन्त्र चुप लाग्नुले दुई तिहाई मतको सरकारको बेइज्जत भएको उनको टिप्पणी थियो ।
चिसो भूइँमा झण्डै एकघण्टा सुतेका महिलाले निर्मला पन्तको फोटोसहितको व्यानर छातिमा टाँसेका थिए । सबै महिलाले टाउकोमा कालोपट्टीसमेत बाँधेर विरोध गरेका थिए । ‘सरकार भेटियो, न्याय भेटिएन’ भन्ने नारा लेखिएको व्यानर र पोस्टर लिएर उनीहरुले दोषीलाई पक्राउ गर्न माग गरेका थिए ।
सडकमै सुत्ने कार्यक्रममा ७० वर्षीयादेखि १५ वर्षीया किशोरीहरु पुगेका थिए । उनीहरुको मागको समर्थनमा कांग्रेससहितका अन्य राजनीतिक दलका नेता, नेपाल ट्रेड युनियन कांग्रेसका पदाधिकारी, कार्यकर्ता, अधिकारकर्मी तथा नेविसंघका कार्यकर्ता सहभागी थिए । उनीहरुको विरोधले सडकको आवागमन अवरुद्ध भएको थियो ।
संघले बाग्लुङका युवा संगीन जिसीको हत्यामा संलग्नलाई पत्ता लगाउन पनि माग गरेको छ । निर्मलाको हत्या भएकै समयमा जिसीको काठमाडौंको स्वयंभूमा हत्या भएको थियो । उनको हत्यामा प्रहरीले आत्महत्या भनेर दोषी नखोजेको आरोप छ । त्यस्तै चार वर्षअघि तीजको दिन बागलुङ नगरपालिका ४ मा दिउँसै हत्या गरिएकी स्थानीय रुपा गौतमको समेत हत्यारा पत्ता नलगाएकोमा प्रशासनको ध्यानाकर्षण गराएका थिए ।