‘ए’ डिभिजन लिग फुटबल: फ्रेन्ड्स, आर्मी र जावलाखेल युथ क्लबको जित

‘ए’ डिभिजन लिग फुटबल: फ्रेन्ड्स, आर्मी र जावलाखेल युथ क्लबको जित

काठमाडौं, १६ मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले पहिलो जित दर्ता गरेको छ । आज भएको खेलमा मच्छिन्द्र क्लबलाई ३–० ले पराजित गर्दै फ्रेन्ड्सले पहिलो जित निकालेको हो ।

एन्फा कम्प्लेक्समा सातदोबाटोमा भएको खेलमा फ्रेन्ड्सलाई जित दिलाउन फोफाना ब्राहिमान, संजोक महर्जन र अनिल महर्जनले एक–एक गोल गरे । जितसँगै फ्रेन्ड्सले ४ अंक जोडेको छ । चार खेलपछि फ्रेन्ड्सले पहिलो जित निकालेको हो ।

यसअघि फ्रेन्ड्सले ४ खेलमा ३ हार र एक बराबरी खेलेको थियो । लिगमा मच्छिन्द्रको यो तेस्रो हार हो । मच्छिन्द्रले पाँच खेलमा २ अंकमात्र जोडेको छ । मच्छिन्द्रले अघिल्ला ४ खेलमा २ हार र २ मा बराबरीको नतिजा निकालेको थियो ।

यसैबीच, विभागीय टिम त्रिभुवन आर्मी क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ । आज भएको खेलमा आर्मीले हिमालयन शेर्पालाई २, १ गोल अन्तरले हराएको हो ।

यस्तै, जावलाखेल युथ क्लबले ए डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । आज भएको खेलमा ब्रिगेड ब्वाईज क्लब १, ० ले गोल अन्तरले हराएर जावालाखेलले पहिलो जित निकालेको हो । हल्चोकस्थित एपीएफ क्लबको मैदानमा जावलाखेललाई जित दिलाउन अरुज थापाले पेनाल्टीमा निर्णायक गोल गरेका थिए ।