एसिया प्यासिफिक सम्मेलन आजदेखि काठमाडौंमा

एसिया प्यासिफिक सम्मेलन आजदेखि काठमाडौंमा

काठमाडौं, १४ मंसिर । एसिया प्यासिफिक सम्मेलन आजदेखि काठमाण्डुमा सुरु हुँदैछ । सम्मेलनमा सहभागि हुन विभिन्न राष्ट्रका राष्ट्र प्रमुख तथा प्रतिनिधिहरु आउने क्रम जारी छ । दक्षिण कोरियामा रहेको अन्तर्राष्ट्रिय संस्था युनिभर्सल पिस फेडरेसन (यूपीएफ) को नेपाल च्याप्टरले आयोजना गरेको सम्मेलनमा विभिन्न ४५ देशका झण्डै १५ सय प्रतिनिधि सहभागी हुनेछन् ।

आजदेखि सुरु हुने सम्मेलन आत्मनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापी मूल्य मान्यताका विषयमा केन्द्रित हुने बताइएको छ । सम्मेलनको मूल एजेण्डा भने गरिबी, आतंकवाद, खाद्य, सुरक्षा र जलवायु परिवर्तन रहने आयोजकले जनाएको छ । सम्मेलन सोमबार काठमाडौं घोषणापत्र सार्वजनिक गर्दै सकिनेछ । सम्मेलन गैरसरकारी संस्थाको आयोजनामा हुन लागेपनि आउने पाहुना सबै सरकारी निमन्त्रणाको हैसियतमा आइपुगेका छन् ।

सम्मेलनमा शान्ति प्रकृया, द्वन्द्व, जलवायु र विवाह एवं परिवार संरचनालाई सुदृढ बनाउन विस्तृत छलफल गरिने अध्यक्ष एकनाथ ढकालले दावी गर्नुभयो । सम्मेलनमा सहभागी हुन फिलिपिन्सका उपराष्ट्रपति लोनी रोड्रेबो बुधबार नै काठमाडौं आइसक्नु भएको छ । यस्तै म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन हिजो आइपुग्नु भएको छ ।

अन्य देशका राष्ट्रप्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरु पनि आउने क्रम जारी छ । क्रिश्चियन धर्म प्रचारका लागि कार्यक्रम गरिएको भन्ने चर्चा हुन थालेपछि आयोजक संस्थाले कार्यक्रममा क्रिश्चियन मात्रै नभई सबै धर्मका गुरुहरुलाई समेत निम्ता गरेको छ ।