शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै

शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै

काठमाडौं, १२ मंसिर । शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा हिमालयन शेर्पा र मछिन्द्रबीच प्रतिस्पर्धा हुनेछ ।
चौथो चरणको अन्तिम दिनको खेल बिहान ११ बजेबाट ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा सुरु हुनेछ । लिगको सुरुवाती नतिजालाई हेर्दा मछिन्द्र भन्दा हिमालयन शर्पा बलियो देखिन्छ । हिमालयन शेर्पा ३ खेलबाट ७ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।

एक खेल गुमाएको मछिन्द्रले दुई खेलमा बराबरीको नतिजा निकाल्दै २ अंक सहित तालिकाको ११ आैँ स्थानमा छ । यस्तै आजै हुने दोस्रो खेलमा फ्रेन्ड्स क्लब र जावलाखेल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् । लिगको पुछारमा रहेको दुवै टोलीबीचको खेल एन्फा मैदानमै दिउँसो साढे २ बजेबाट सुरु हुनेछ । अंक विहिन रहेको दुवै टोली आज भने जित निकाल्दै अङ्क जोड्ने लक्ष्य सहित मैदानमा उत्रने छ ।