‘ए’ डिभिजन लिगमा मनाङ र सरस्वती विजयी

‘ए’ डिभिजन लिगमा मनाङ र सरस्वती विजयी

काठमाडाैँ, ११ मंसिर । मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आज भएको खेलमा विभागीय टिम एपीएफलाई २–१ गोल अन्तरले पराजित गर्दै मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

अहिलेसम्म उसले प्रतियोगितामा कुनै पनि खेलमा हार व्यहोरेको छैन । एन्फा कम्प्लेक्स सातदोबाटोमा मनाङलाई जित दिलाउन आफिज ओलावाले र अन्जन बिष्टले एक एक गोल गर्नुभयो । एपीएफका नबिन लामाले एक गोल गर्नुभयो । एपीएफविरुद्धको जितसँगै मनाङले आफ्नो अपराजित यात्रा कायम राखेको छ । मनाङले ४ खेलमा ४ जित निकाल्दै १२ अङ्क जोडेको छ ।

मनाङले त्रिभुवन आर्मी क्लबलाई २ अंकले पछि पार्दै शीर्ष स्थान हात पारेको हो । आर्मीको भने १० अङ्क रहेको छ । आजै भएको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब पराजित भएको छ ।

सरस्वती युथ क्लबले ब्रिगेडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । सरस्वतीलाई जित दिलाउन बिनोद केसी र फ्रान्सिस ओकेछुुक्वुु ओन्यमले एक एक गोल गर्नुभयो । जितसँगै सरस्वतीले ३ खेलबाट ६ अङ्क जोडेको छ । सरस्वती सातौँ स्थानमा उक्लिएको छ । ३ अङ्क जोडेको ब्रिगेड ११ औँ स्थानमा छ ।