काठमाडौं, १० मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको चौथो चरणको खेलहरु आजबाट सुरु हुँदैछ । चौथो चरण अन्तर्गत पहिलो दिन तीन खेलहरु हुनेछन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र सिएमजी संकटाले प्रतिस्पर्धा गर्नेछन् । संकटा ९ अंक सहित दोस्रो स्थानमा रहेको छ भने आर्मी ७ अंक सहित लिगको चौथो स्थानमा रहेको यी दुई टोलीबीचको खेल बिहान ११ बजेबाट सुरु हुनेछ । यस्तै, दोस्रो खेलमा न्युरोड टिम एनआरटी र रुस्लान थ्री स्टार क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
यी टोलीबीचको खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्समा नै सुरु हुनेछ । थ्री स्टार ६ अंक सहित तालिकाको पाँचौ स्थानमा छ भने मात्र एक अंक जोडेको एनआरटी अंक तालिकाको पुछारदेखि तेस्रो स्थानमा रहेको छ ।
यस्तै आजको तेस्रो खेल च्यासल युथ क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् । हलचोकस्थित एपीएफ मैदानमा हुने यि दुई टोलीबीचको खेल दिउँसो साढे २ बजे सुरु हुनेछ । च्यासल ४ अंक सहित छैटौ स्थानमा छ भने समान अंक भएपनि गोल अन्तरका आधारमा पुलिस सातौ स्थानमा रहेको छ ।