अमेरिकामा उडान प्रतिबन्ध हट्यो, १३ हजारभन्दा बढी उडान प्रभावित

अमेरिकामा उडान प्रतिबन्ध हट्यो, १३ हजारभन्दा बढी उडान प्रभावित

काठमाडौं । अमेरिकामा हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्राविधिक समस्या आएपछि लगाइएको उडान प्रतिबन्ध हटाइएको छ । शुक्रबार देखिएको समस्याका कारण अमेरिकाभर १३ हजारभन्दा बढी उडान प्रभावित भएका थिए ।

अमेरिकी यातायात सचिव शन डफीले प्राविधिक समस्याको पहिचान भइसकेको र देशको हवाई क्षेत्र पुनः खुला गरिएको जानकारी दिएका छन् । यद्यपि, उडान सेवा तत्काल पूर्ण रूपमा सामान्य अवस्थामा नफर्किने र क्रमशः सञ्चालनमा ल्याइने उनले बताएका छन् ।

के कारण रोकियो उडान ?

अमेरिकी यातायात सचिवका अनुसार शुक्रबार दिउँसो ३ बजेर ३६ मिनेटमा देशभरका एयर ट्राफिक कन्ट्रोल केन्द्र तथा ट्र्याकन प्रणालीमा राडार र सञ्चारसम्बन्धी समस्या देखिएको थियो ।

प्राविधिक समस्याका कारण विमानको राडारसम्बन्धी तथ्याङ्क प्राप्त गर्न तथा विमानसँग सञ्चार सम्पर्क कायम गर्न कठिनाइ भएको थियो । त्यसपछि यात्रुको सुरक्षालाई ध्यानमा राख्दै अधिकारीहरूले सावधानीस्वरूप देशभर ग्राउन्ड स्टप अर्थात् विमानलाई जमिनमै रोक्ने निर्णय गरेका थिए ।

उक्त समयमा आकाशमा ३ हजार ५०० भन्दा बढी विमान उडिरहेका थिए । हवाई ट्राफिक नियन्त्रणका निर्देशन पालना गर्दै सबै विमान सुरक्षित रूपमा अवतरण गरेको अधिकारीहरूले जनाएका छन् ।