

काठमाडौं । सूर्यदेवको उपासना गरी श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदै छ । यस अवसरमा दिनभर निराहार व्रत बसेका ब्रतालुले साँझ चामल, सक्खर र दूधबाट तयार पारिएको खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ ।
खरनाका दिन ब्रतालुले दिनभर उपवास बसेर साँझ शुद्धतापूर्वक खीर पकाई सूर्यदेवलाई अर्पण गरेपछि प्रसाद ग्रहण गर्छन् । उक्त प्रसाद परिवारका सदस्यलाई खुवाउनुका साथै छठ पर्व नमनाउने छिमेकी तथा अन्य व्यक्तिलाई समेत वितरण गर्ने चलन छ ।
सन्तानको सुख, परिवारको समृद्धि तथा कल्याणको कामना गर्दै चार दिनसम्म मनाइने छठ पर्व शुक्रबार नहाय–खाय विधिबाट सुरु भएको हो । पहिलो दिन ब्रतालुले स्नान गरी शुद्ध भोजन ग्रहण गरेका थिए ।
छठ पर्वको मुख्य दिन आइतबार हो । यस दिन ब्रतालुले विभिन्न पूजा सामग्रीसहित जलाशय तथा नदी किनारका घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नेछन् । यस विधिलाई ‘सौझकारक’ भनिन्छ । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् समापन हुनेछ । अन्तिम दिनको विधिलाई ‘पारन’ भनिन्छ ।
छठमा बाँसका ढाकी, डग्री, माटाका कोसिया, कुरबारलगायत सामग्री प्रयोग गरिन्छ । सूर्यदेवलाई ठकुवा, भुसुवा, केरा, उखु, अदुवा, बेसार, विभिन्न फलफूल तथा मिठाई प्रसादका रूपमा चढाउने परम्परा छ ।
छठ पर्वमा ब्रतालुले कठोर नियम पालना गर्नुपर्ने हुन्छ । विशेषगरी अर्घ्य दिने ब्रतालुहरू करिब ४८ घण्टासम्म पानीसमेत नपिई निराहार व्रत बस्ने गर्छन् । पूजा सामग्री र प्रसाद तयार गर्दा शुद्धता तथा पवित्रतालाई विशेष महत्त्व दिइने भएकाले छठलाई निष्ठा र कठोर अनुशासनको पर्वका रूपमा लिइन्छ ।
यसैबीच, सरकारले छठ पर्वको अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ ।