

सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा ज्यान गुमाएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ ।
बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएकाहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ सुन्दरपुर ल्याइएको हो । एउटै गाउँका १३ जनाको एकै दुर्घटनामा मृत्यु भएपछि सुन्दरपुर शोकमा डुबेको छ ।
मृतक सबैको शुक्रबार राति नै सामूहिक अन्त्येष्टि गर्ने तयारी गरिएको छ । गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवका अनुसार गाउँको पश्चिमतर्फ रहेको लखन्देही नदीमा धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार उनीहरूको सामूहिक अन्त्येष्टि गरिनेछ ।
मृतकका आफन्तले उचित राहत र क्षतिपूर्तिको सुनिश्चितता नभएसम्म शव नबुझ्ने अडान लिएपछि शव हेटौँडा अस्पतालमै राखिएको थियो । पीडित परिवारले मृतकका प्रत्येक परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति, परिवारका एक सदस्यलाई रोजगारी तथा घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग गरेका थिए ।
सरकारले गठन गरेको दुर्घटना छानबिन समिति र पीडित परिवारबीच सहमति भएपछि शुक्रबार आफन्तले शव बुझेका हुन् । सहमतिअनुसार कानुनबमोजिम पाउने राहत तथा क्षतिपूर्ति तत्काल उपलब्ध गराउन सरकारले पहल गर्नेछ ।
थप राहत तथा क्षतिपूर्तिको व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा औपचारिक आग्रह गर्ने सहमति भएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले जानकारी दिए ।
दुर्घटनामा सुन्दरपुरका १३ जना र कविलासी नगरपालिका–८ अगर्वाका हायस चालक ३० वर्षीय रवीशङ्करकुमार मण्डलसहित १४ जनाको मृत्यु भएको थियो । दुर्घटनामा अन्य ६ जना घाइते भएका थिए ।
छठ पर्व मनाउन काठमाडौंबाट सर्लाही फर्किने क्रममा बिहीबार बिहान करिब पौने ६ बजे हायस चिसापानीगढीमा सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो ।
एकै गाउँका १३ जनाको मृत्यु भएपछि चक्रघट्टा गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको थियो ।