

काठमाडौँ । आयुर्वेद चिकित्साका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको स्मरणमा आज देशभर धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने यो पर्वका अवसरमा आयुर्वेद चिकित्सा पद्धतिको महत्व र स्वास्थ्यप्रतिको सचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिँदैछ।
वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको दिनका रूपमा यस पर्वलाई लिने गरिन्छ। त्रयोदशी तिथिमा धन्वन्तरी जयन्ती मनाउनुपर्ने धार्मिक मान्यताअनुसार आज यो दिवस मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
वैदिक सनातन हिन्दू धर्मग्रन्थमा देवता र असुर मिलेर नागलाई नेती तथा मन्दराचल पर्वतलाई मदानी बनाई समुद्र मन्थन गर्दा अमृत कलशसहित भगवान् धन्वन्तरी प्रकट भएको उल्लेख छ। रोगग्रस्त व्यक्तिको रोग निवारण गर्ने उद्देश्यले अमृत कलश लिएर कात्तिक कृष्ण त्रयोदशीका दिन धन्वन्तरी उत्पत्ति भएको धार्मिक विश्वास छ।
धन्वन्तरी जयन्तीलाई आयुर्वेद चिकित्सा क्षेत्रका चिकित्सक तथा सरोकारवालाले नयाँ कार्यको शुभारम्भ र सत्सङ्कल्प गर्ने अवसरका रूपमा लिने गरेका छन्। यस दिन भगवान् धन्वन्तरीको पूजा आराधना गरी आरोग्य र दीर्घजीवनको कामना गर्ने परम्परा छ।
नेपालमा नरदेवीस्थित आयुर्वेद क्याम्पस स्थापना भएपछि विधिवत् रूपमा धन्वन्तरी जयन्ती मनाउन थालिएको हो। तत्कालीन समयमा राजकीय आयुर्वेद महाविद्यालयका रूपमा स्थापना भएको उक्त क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण संस्थाका रूपमा सञ्चालनमा थियो। विसं २०२९ देखि त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत आङ्गिक क्याम्पसका रूपमा सञ्चालन हुँदै आएको यो क्याम्पस हाल कीर्तिपुरमा रहेको छ।
आयुर्वेद क्षेत्रका व्यक्तिहरूको पहलमा विसं २०५६ देखि धन्वन्तरी जयन्तीलाई आरोग्यता दिवसका रूपमा समेत मनाउन थालिएको हो। वैदिक हिन्दू दर्शनका चार उपवेदमध्ये एक आयुर्वेदको ग्रन्थ र प्रकृतिप्रदत्त औषधिको प्रतीक जडीबुटी हातमा धारण गरेका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा पद्धतिका संस्थापकका रूपमा पुज्ने गरिन्छ।
धन्वन्तरी जयन्ती तथा आरोग्यता दिवसका अवसरमा आज सिंहदरबार वैद्यखाना विकास समिति, नरदेवी आयुर्वेद अस्पताल, कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाङ, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वरलगायत सरकारी तथा निजी आयुर्वेद संस्थाहरूमा विविध कार्यक्रम आयोजना गरिँदैछ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक श्यामबाबु यादवका अनुसार दिवसका अवसरमा भगवान् धन्वन्तरीको पूजा आराधनालगायत कार्यक्रम तय गरिएको छ।
यसैबीच, पछिल्लो समय नेपालमा आयुर्वेदिक औषधिको माग उल्लेख्य रूपमा बढेको छ। सिंहदरबार वैद्यखाना विकास समितिका अनुसार विगतको तुलनामा आयुर्वेदिक औषधिको माग चार गुणासम्म वृद्धि भएको छ। समितिले उत्पादन गर्ने आयुर्वेदिक औषधिको मागसमेत उच्च रहेको जनाइएको छ।