

ठमेल पर्यटन विकास परिषद्ले बिहीबार आयोजना गरेको ‘ठमेल क्षेत्रको शान्ति सुरक्षा सम्बन्धी छलफल तथा अन्तर्क्रिया’ कार्यक्रममा उनले काठमाडौंलाई नै २४ घण्टा सञ्चालन गर्ने गरी अध्ययन र तयारी भइरहेको बताएका हुन्।
ठमेललाई पर्यटकीय हबका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले यस अभियानमा सबै पक्षलाई सहयोग गर्न आग्रह गरे।
नेपालको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय गैरकानुनी गतिविधि बढेको भन्दै उनले घरधनी र व्यवसायी जिम्मेवार भएर व्यवसाय सञ्चालन गरे विकृति न्यूनीकरण गर्न सकिने बताए। ठमेलका समस्या पहिचान र समाधानका लागि महिनाको एक दिन जिल्ला प्रशासन कार्यालयमा नियमित बैठक बस्ने व्यवस्था गर्नुपर्ने उनको प्रस्ताव थियो।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले ठमेललाई व्यवस्थित बनाउन महानगरपालिकाले काम गरिरहेको बताए। सार्वजनिक शौचालय, अव्यवस्थित पार्किङ, डस्टबिन, ट्राफिक जाम र मगन्तेलगायतका समस्या समाधान गर्न सम्बन्धित निकायसँग सहकार्य भइरहेको उनले जानकारी दिए।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले स्थानीयवासी र व्यवसायी ठमेललाई सवारीसाधनमुक्त क्षेत्र बनाउन तयार भए ट्राफिक प्रहरीले आवश्यक सहयोग गर्ने बताए।
जथाभावी पार्किङका कारण ट्राफिक जाम बढिरहेको उल्लेख गर्दै उनले नियमविपरीत पार्किङ गर्ने सवारीसाधनमाथि कारबाही गरिने स्पष्ट पारे।
त्यस्तै, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले ठमेललाई अपराधमुक्त बनाउन घरधनी र व्यवसायीको सहयोग आवश्यक रहेको बताए। ठमेललाई शान्त, सुरक्षित र सभ्य पर्यटकीय क्षेत्र बनाउन प्रहरी सधैँ तयार रहेको उनको भनाइ थियो।
परिषद्का पूर्वअध्यक्ष भविश्वर शर्माले लामो अध्ययनपछि तयार गरिएको ठमेललाई २४ सै घण्टा सञ्चालन गर्ने आचारसंहिता कार्यान्वयनमा सबै घरधनी तथा व्यवसायी सक्रिय हुनुपर्ने बताए। ठमेललाई नमुना र सुरक्षित पर्यटकीय गन्तव्य बनाउन जिल्ला प्रशासन कार्यालयले लागू गरेको आचारसंहिता कडाइका साथ पालना गराउनुपर्नेमा उनले जोड दिए।
शर्माकै अध्यक्षतामा रहेको परिषद्को पहलमा २०८१ वैशाख १ गते तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ठमेललाई २४ सै घण्टा खुला भएको घोषणा गरेका थिए।
काठमाडौं महानगरपालिका–२६ का वडा सदस्य प्रवेश श्रेष्ठले ठमेलको विकासका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताए। परिषद्का अध्यक्ष राजुमान डंगोलले ठमेलको पर्यटन प्रवर्द्धनका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा राखे।
रातिको सुरक्षा र अव्यवस्थित गतिविधि मुख्य चुनौती
कार्यक्रममा ठमेलका घरधनी तथा व्यवसायीले राति १ बजेपछि आवतजावतमा कठिनाइ हुने, मादक पदार्थ सेवन गरी जथाभावी फोहोर गर्ने तथा दिउँसै लागुऔषध कारोबार हुने गरेको गुनासो गरेका थिए। त्यस्तै, अव्यवस्थित सवारी पार्किङका कारण समस्या बढेको भन्दै उनीहरूले ट्राफिक व्यवस्थापनमा ध्यान दिन आग्रह गरेका थिए। ठमेलको सातघुम्ती क्षेत्रमा ढलका कारण पानी जम्ने समस्या समाधान गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको थियो।
ठमेल क्षेत्रका घरधनी तथा व्यवसायीको साझा संस्थाका रूपमा २०४८ सालमा स्थापना भएको ठमेल पर्यटन विकास परिषद्ले लामो समयदेखि यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा काम गर्दै आएको परिषद्का महासचिव पशुपति कँडेलले जानकारी दिए। समग्र काठमाडौंलाई २४ घण्टा सञ्चालन गर्ने सरकारी तयारीसँगै रात्रिकालीन पर्यटन, सुरक्षा, यातायात र सरसफाइ व्यवस्थापनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण देखिएको छ।