

चितवन । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।
पहिलो खेल दिउँसो १२ः३० बजे र दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ।
चितवन राइनोज प्रतियोगितामा अहिलेसम्म अपराजित छ। पहिलो खेलमा जित निकालेको चितवनको दोस्रो खेल भने वर्षाका कारण रद्द भएपछि दुवै टोलीले अंक बाँडेका थिए। सुदूरपश्चिम रोयल्सले हालसम्म खेलेका तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ।
यसैबीच, आज साँझ हुने सुदूरपश्चिमसँगको खेल हेर्न चितवन राइनोजले आफ्ना समर्थकलाई चितवनबाट काठमाडौं ल्याउने व्यवस्था गरेको छ।
चितवन राइनोजका निर्देशक प्रताप देवकोटाका अनुसार खेलको टिकट लिएका चितवनका समर्थकका लागि क्लबले खेल हुने दिन निःशुल्क बस सेवा सञ्चालन गरेको छ। समर्थकलाई चितवनबाट काठमाडौं ल्याउने र खेल सकिएपछि पुनः चितवन पुर्याउने व्यवस्था मिलाइएको उनले जानकारी दिए।
‘खेलको टिकट लिएका चितवनका समर्थकलाई चितवनदेखि काठमाडौंसम्म ल्याउने र खेल हेरिसकेपछि पुनः चितवन फर्काउने व्यवस्था गरेका छौँ,’ देवकोटाले भने।
उनका अनुसार अग्रिम टिकट लिएका समर्थकमध्ये ‘पहिले आउनेलाई पहिले सेवा’ (फर्स्ट कम, फर्स्ट सर्भ) का आधारमा बस सेवा उपलब्ध गराइएको छ।