पोखराले टस जितेर जनकपुरलाई ब्याटिङको निम्तो दियो

पोखराले टस जितेर जनकपुरलाई ब्याटिङको निम्तो दियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा एभेन्जर्सले टस जितेर जनकपुर बोल्ट्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन्।

आजको खेलमा पोखरा प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको छ भने जनकपुर दोस्रो जितको खोजीमा छ। जारी प्रतियोगितामा पोखराको यो दोस्रो खेल हो। पहिलो खेलमा पोखरा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो।

यता, जनकपुरले यसअघि दुई खेल खेलिसकेको छ। पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई आठ विकेटले हराएको थियो। एक जित र एक हार बेहोरेको जनकपुर आजको खेल जित्दै आफ्नो जित सङ्ख्या दोब्बर बनाउने लक्ष्यमा छ। एनपीएलमा आज एक खेल मात्रै हुँदै छ।