न्यायाधीश विवादको निकास संसद्बाट खोज्ने रास्वपाको निष्कर्ष, महाअभियोगको विकल्पमा छलफल

न्यायाधीश विवादको निकास संसद्बाट खोज्ने रास्वपाको निष्कर्ष, महाअभियोगको विकल्पमा छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानन्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश हरि फुयालसँग जोडिएको विवादको समाधान संसद्बाट खोज्ने निष्कर्ष निकालेको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले न्याय परिषद्बाट विवाद समाधान सम्भव नदेखिएको भन्दै संसदीय दललाई संसद्मार्फत प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

पार्टी प्रवक्ता जगदीश खरेलले न्यायाधीश विवादको निकास संसद्बाटै खोज्ने निर्णय भएको जानकारी दिए । महाअभियोग प्रस्ताव अघि बढाउने वा अन्य संसदीय प्रक्रिया अपनाउने भन्ने विषय भने प्रक्रिया सुरु भएपछि टुङ्गो लाग्ने उनको भनाइ छ ।

बैठकमा सहभागी अधिकांश नेताले सम्बन्धित न्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने धारणा राखेका थिए । सोही आधारमा विवाद समाधानका लागि आवश्यक संसदीय प्रक्रिया अघि बढाउने जिम्मेवारी संसदीय दललाई दिइएको खरेलले बताए ।

यस विषयमा पार्टी सभापति रवि लामिछानेले सचिवालय बैठकअघि कानुन क्षेत्रबाट आएका सांसदहरूसँग परामर्श गरेका थिए । उनले कानुनमन्त्रीसमेत रहेकी पार्टी उपसभापति सोबिता गौतमसँग पनि महाअभियोगको सम्भावनाबारे छलफल गरेका थिए ।