काठमाडौं, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि बस्दैछ । दिउँसो ४ बजेका लागि बोलाईएको बैठकमा सरकार, पार्टी र संसद सन्चालनसम्बन्धी समीक्षा गरी नयाँ कार्ययोजना बनाउने बताईएको छ ।
यसअघि हिजो बसेको बैठकले राजधानीमा विशेष जिल्ला कमिटी बनाउने निर्णय गरेको थियो । नयाँ बन्ने विशेष जिल्ला कमिटीहरु अबदेखि छुट्टै विशेष प्रदेश कमिटीको हैसियतमा कमिटी गठन गरी त्यसको मातहतमा परिचालन गर्ने निर्णय भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा हिजो सम्पन्न सचिवालय बैठकमा प्रदेश कमिटीको एकीकरण र गठनको पूर्णताका लागि सुझाव दिन गठित कार्यदलको प्रतिवेदनमाथि छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । नेकपाका महासचिव विष्णु पौडेल र नेता रामबहादुर थापा सदस्य रहेको कार्यदलले बिहीबारको बैठकमा सो प्रस्ताव पेस गरेको थियो ।