संयुक्त राष्ट्रसङ्घीय मञ्चमा मन्त्री श्रेष्ठले उठाए नेपालको जलवायु विपद्को मुद्दा

संयुक्त राष्ट्रसङ्घीय मञ्चमा मन्त्री श्रेष्ठले उठाए नेपालको जलवायु विपद्को मुद्दा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय क्षेत्रीय मञ्चमार्फत नेपालले भोग्दै आएको जलवायुजन्य विपद् र त्यसबाट भएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन ईएससीएपी) र थाइल्यान्ड सरकारको संयुक्त आयोजनामा बैंककमा आयोजित ‘दिगो विकासका लागि अन्तरिक्ष प्रविधिको उपयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलन’मा मन्त्री श्रेष्ठले नेपालको पछिल्लो विपद्, त्यसले पुर्‍याएको मानवीय तथा भौतिक क्षति र हिमाली क्षेत्रको उत्थानशीलताका लागि आवश्यक अन्तर्राष्ट्रिय सहकार्यबारे धारणा राखेका हुन् ।

सम्मेलनमा उपाध्यक्षको हैसियतमा मुख्य सत्र सञ्चालन गरेका मन्त्री श्रेष्ठले नेपालको तर्फबाट उच्चस्तरीय सम्बोधन गर्नुका साथै विशेष संवाद र द्विपक्षीय भेटवार्तासमेत गरेका थिए ।

सम्मेलनका उद्घाटन तथा विषयगत सत्रमा सम्बोधन गर्दै उनले भोटेकोशी, त्रिशूली र बूढीगण्डकी नदी क्षेत्रमा हालै आएको बाढीपहिरोले पुर्‍याएको मानवीय, भौतिक तथा पूर्वाधार क्षेत्रको क्षतिबारे जानकारी गराएका थिए ।

हिमाली क्षेत्रमा उत्पन्न हुने जलवायुजन्य जोखिम नदी प्रणाली हुँदै तल्लो तटीय क्षेत्र र सीमापारसम्म फैलिन सक्ने उल्लेख गर्दै मन्त्री श्रेष्ठले यसलाई कुनै एक देशको समस्याका रूपमा मात्र नभई क्षेत्रीय प्रणालीगत जोखिमका रूपमा लिनुपर्नेमा जोड दिए ।

उनले हिमनदी, हिमताल, अस्थिर पहाडी भूभाग र नदी प्रणालीको नियमित अनुगमनका लागि भूउपग्रह, भूस्थानिक विश्लेषण तथा कृत्रिम बुद्धिमत्ताको प्रयोग बढाउनुपर्ने बताए । जोखिमको समयमै पूर्वानुमान गरी समुदायसम्म सूचना पुर्‍याउन प्रभावकारी बहुप्रकोपी पूर्वसूचना प्रणाली विकास गर्न प्राविधिक सहकार्य, संयुक्त अनुसन्धान र राष्ट्रिय क्षमता अभिवृद्धि आवश्यक रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री वालेन्द्र शाहले प्रस्ताव गरेको ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’लाई संयुक्त अनुसन्धान, तथ्याङ्क आदानप्रदान र समन्वित पूर्वसूचना प्रणालीमार्फत व्यवहारमा कार्यान्वयन गर्न पनि उनले अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरे ।

भोटेकोशी क्षेत्रमा आएको विपद्को कारण पहिचान तथा विश्लेषणका लागि समयमै भूउपग्रह तस्बिर र प्राविधिक सूचना उपलब्ध गराएको भन्दै मन्त्री श्रेष्ठले यूएन ईएससीएपीप्रति विशेष धन्यवाद व्यक्त गरेका थिए ।

सम्मेलनका क्रममा मन्त्री श्रेष्ठले संयुक्त राष्ट्रसङ्घका उपमहासचिव तथा ईएससीएपीका कार्यकारी सचिव आर्मिडा साल्सियाह अलिस्याहबाना, थाइल्यान्डका उपप्रधानमन्त्री तथा उच्च शिक्षा, विज्ञान, अनुसन्धान तथा नवप्रवर्तनमन्त्री योड्चनन वोङ्सावात, भुटानका परराष्ट्रमन्त्री दिना नाथ ढुङ्ग्याल र श्रीलङ्काका स्वास्थ्य तथा आमसञ्चारमन्त्री डा. नलिन्दा जयतिस्सासँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेका थिए ।

भेटवार्तामा जलवायु उत्थानशीलता, विपद् जोखिम न्यूनीकरण, प्रविधि हस्तान्तरण, क्षमता विकास तथा बहुपक्षीय मञ्चमा साझा हितका विषयमा सहकार्य बढाउनेबारे छलफल भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।