

-मुकुन्द अर्याल-
भोलिको भरोसा छैन गोविन्द राधे
नरतन कहिले ढल्छ , गोविन्द राधे
हरिगुरु नित भज गोविन्द राधे
भाव निष्काम, अनन्य वनाउ , गोविन्द राधे
(कृपालु )
काठमाडौं । यस युगका पञ्चम जगद्गुरु श्री कृपालुजी महाराजको १०४औँ जन्मजयन्ती देश तथा विदेशमा रहेका श्री राधा माधव समिति नेपालअन्तर्गतका सत्सङ्ग केन्द्रहरूमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । यसै क्रममा श्री राधा माधव समिति नेपालअन्तर्गत भक्तपुरको ठिमीस्थित श्यामा श्याम धाम, राधे राधेमा रहेको भक्ति मन्दिर परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको थियो ।
श्री कृपालु महाप्रभुको दिव्य प्रेरणामा स्वामी श्री हरिदासजीको अगुवाइ तथा नेपालका साधकहरूको सक्रियतामा निर्माण भएको उक्त भक्ति मन्दिरको उद्घाटन स्वयं कृपालु महाप्रभुले गर्नुभएको थियो ।
स्मरणीय छ, श्री कृपालुजी महाराजको जन्म सन् १९२२ अक्टोबर ५ मा भारतको उत्तर प्रदेशस्थित मनगढमा शरद् पूर्णिमाको रात भएको थियो । उहाँको निधन सन् २०१३ नोभेम्बर १५ मा भएको थियो ।
आदिगुरु शङ्कराचार्य, रामानुजाचार्य, माध्वाचार्य र निम्बार्काचार्यपछि पञ्चम जगद्गुरुका रूपमा सम्मानित कृपालुजी महाराजलाई ‘जगद्गुरुत्तम’ उपाधिले समेत विभूषित गरिएको थियो । उहाँलाई श्री चैतन्य महाप्रभुको लीलाको पाँच सय वर्षपछि प्रकट हुनुभएका श्रीराधाकृष्णको संयुक्त भक्तिरसका अलौकिक व्यक्तित्वका रूपमा अनुयायीहरूले स्मरण गर्ने गरेका छन् ।
कृपालुजी महाराजले मानव जीवनको परम लक्ष्य भगवत्प्राप्ति रहेको बताउँदै त्यसका लागि भगवान् श्रीराधाकृष्णप्रति निरन्तर निष्काम र अनन्य भक्ति गर्नुपर्ने मार्गदर्शन दिनुभएको थियो । उहाँले साधुसन्त, अशक्त तथा सहयोगापेक्षीको सेवा, भगवान् श्रीराधाकृष्णको नामजप, रूपध्यान, लीला, गुण र धामको स्मरण तथा हरिजन महात्माहरूको चिन्तनलाई भक्तिमार्गका महत्त्वपूर्ण साधनाका रूपमा प्रस्तुत गर्नुभएको थियो ।
उहाँका भक्ति र साधनासम्बन्धी शिक्षालाई स्मरण गर्दै जन्मजयन्तीका अवसरमा विभिन्न सत्सङ्ग तथा धार्मिक कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।