अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसममा क्रमिक सुधार

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसममा क्रमिक सुधार

काठमाडौं । अर्नब चक्रवातको अवशेषको प्रभाव कमजोर हुँदै गएपछि देशभर मौसम क्रमिक रूपमा सुधार हुन थालेको छ । मौसम पूर्वानुमान महाशाखाले शनिबार दिउँसो २ः३३ बजे सूचना जारी गर्दै देशभर मौसममा सुधार भइरहेको जनाएको हो ।

महाशाखाकी मौसमविद् निष्ठा निरौलाका अनुसार चक्रवातको प्रभाव कम हुँदै गएको छ । शनिबार दिउँसो पौने ३ बजेसम्म कोसी र बागमती प्रदेशका केही स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा मात्रै वर्षा भइरहेको उनले जानकारी दिइन् ।

महाशाखाको सूचनाअनुसार हाल कोसी, बागमती र मधेस प्रदेशमा सामान्यतया बादल लागेको छ भने बाँकी प्रदेशमा आंशिक बदली रहेको छ ।

बंगालको खाडीमा विकसित शक्तिशाली ‘अर्नब’ चक्रवात भारततर्फ प्रवेश गर्ने क्रममा त्यसको प्रभावले नेपालमा बिहीबार रातिदेखि लगातार वर्षा र हिमपात भएको थियो । केही स्थानमा अझै वर्षा तथा हिमपात जारी रहे पनि यसको प्रभाव क्रमशः कमजोर बन्दै गएको मौसमविद्हरूले बताएका छन् । मौसममा क्रमिक सुधार हुँदै गए पनि वर्षा तथा हिमपात भइरहेका स्थानमा भने सतर्कता अपनाउन आवश्यक छ ।