

काठमाडौं । प्रतिनिधिसभा सदस्य विश्वराज पोख्रेलले बिचौलियासँगको सम्बन्ध र आर्थिक लेनदेनसम्बन्धी समाचारमा आफ्नो नाम जोडिएकोप्रति आपत्ति जनाउँदै उक्त आरोप निराधार, भ्रामक र कपोलकल्पित भएको बताएका छन् ।
दियोपोस्ट नामक अनलाइनमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै पोख्रेलले प्रेस विज्ञप्तिमार्फत समाचारमा उल्लेख गरिएका आरोपहरूको खण्डन गरेका हुन् । उनले इनम सापकोटा नामका व्यक्तिसँग आफ्नो कुनै चिनजान, फोन सम्पर्क वा अन्य कुनै प्रकारको सम्बन्ध नरहेको स्पष्ट पारेका छन् ।
कुनै पनि दलाल वा बिचौलियासँग आफ्नो चिनजान, सम्पर्क वा संलग्नता नरहेको दाबी गर्दै पोख्रेलले आफूसँग जोडेर प्रस्तुत गरिएका कथित आर्थिक लेनदेन तथा अन्य आरोप पूर्णतः भ्रामक रहेको बताएका छन् ।
प्रमाणित तथ्य र आधिकारिक आधारबिना आफ्नो नामलाई आपत्तिजनक आरोपसँग जोडेर सार्वजनिक गर्नु व्यक्तिगत प्रतिष्ठा, सामाजिक छवि र सार्वजनिक जीवनमाथिको गम्भीर आघात भएको उनको भनाइ छ । आफ्नो बदनाम गर्ने उद्देश्यले तथ्यहीन समाचार सम्प्रेषण गरी जनमानसमा भ्रम सिर्जना गर्ने प्रयासको उनले निन्दा गरेका छन् ।
आफ्नो जीवनमा कुनै पनि प्रकारको अनियमितता, गैरकानुनी आर्थिक कारोबार वा बिचौलियामार्फत अनुचित काम गराउने गतिविधि नभएको पोख्रेलले विज्ञप्तिमा उल्लेख गरेका छन् । आफूलाई सम्बन्धित विषयमा प्रश्न वा जिज्ञासा गर्न सकिने अवस्था हुँदाहुँदै एकपक्षीय र अप्रमाणित सामग्रीका आधारमा समाचार प्रकाशन गर्नु जिम्मेवार पत्रकारिताको मर्मविपरीत भएको उनको भनाइ छ ।
उनले आफ्नो नाम जोडेर प्रकाशित समाचारको गल्ती सच्याउन र आफ्नो आधिकारिक धारणा समेट्न सम्बन्धित अनलाइनलाई आग्रह गरेका छन् । साथै, आफ्नो प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले झुटा तथा भ्रामक सामग्री प्रचारप्रसार गर्ने कार्यविरुद्ध प्रचलित कानुनबमोजिम कानुनी उपचार खोज्ने अधिकार सुरक्षित रहेको पनि उनले बताएका छन् ।
विज्ञप्तिमा पोख्रेलले आफू ३५ वर्षदेखि देश र नागरिकको सेवामा समर्पित रहेको उल्लेख गर्दै इमानदारी, निष्ठा र जिम्मेवारीपूर्वक कर्तव्य निर्वाह गर्दै आएको बताएका छन् । आफ्नो चरित्र, व्यावसायिक निष्ठा र समाजसेवाको यात्रामा कुनै दाग लाग्न नदिएको दाबी गर्दै उनले आगामी दिनमा पनि सत्य, निष्ठा र इमानदारीका साथ राष्ट्र तथा जनताको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताका रूपमा ओखलढुंगावासीको सेवामा निरन्तर खटिरहने प्रतिबद्धता व्यक्त गर्दै पोख्रेलले सत्य, निष्ठा र इमानदारीलाई आफ्नो जीवनको सम्पत्ति तथा जनविश्वासको आधारका रूपमा लिएको बताएका छन् ।
