एनपीएलमा लुम्बिनी लायन्सले भित्र्यायो बंगलादेशका आक्रामक अलराउन्डर शामीम हुसेन

एनपीएलमा लुम्बिनी लायन्सले भित्र्यायो बंगलादेशका आक्रामक अलराउन्डर शामीम हुसेन

काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी सिजनका लागि बंगलादेशका ब्याटिङ अलराउन्डर शामीम हुसेनलाई अनुबन्ध गरेको छ। बायाँहाते आक्रामक ब्याटिङ र दायाँहाते अफ स्पिन बलिङ गर्ने क्षमता भएका हुसेनको आगमनले लायन्सको ब्याटिङ लाइनअप थप बलियो हुने अपेक्षा गरिएको छ।

हुसेन सन् २०२० मा बंगलादेशलाई आईसीसी यू–१९ विश्वकपको उपाधि दिलाउने टोलीका सदस्य हुन्। युवा क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीसम्म पुगेका उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पनि आफ्नो क्षमता देखाइसकेका छन्।

टी–२० क्रिकेटमा आक्रामक ब्याटिङका लागि परिचित हुसेनले सन् २०२१ मा जिम्बाब्वेविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। डेब्यु शृङ्खलाकै तेस्रो खेलमा उनले १५ बलमा अविजित ३१ रन बनाउँदै बंगलादेशलाई जित दिलाउन महत्त्वपूर्ण योगदान दिएका थिए। उनले सन् २०२३ मा अफगानिस्तानविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि डेब्यु गरेका थिए।

घरेलु तथा फ्रेन्चाइज क्रिकेटमा समेत प्रभावशाली प्रदर्शन गरेका हुसेनले सन् २०२४–२५ को बंगलादेश प्रिमियर लिग (बीपीएल) मा चिट्टागङ किङ्सबाट खेल्दै ३५२ रन बनाएका थिए। करिब १६० को स्ट्राइक रेटमा ब्याटिङ गरेका उनले टोलीलाई प्रतियोगिताको फाइनलसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

आक्रामक ब्याटिङ, तीव्र गतिमा रन बनाउने क्षमता र प्रभावशाली फिल्डिङका कारण हुसेन टी–२० क्रिकेटमा उपयोगी खेलाडी मानिन्छन्। मध्यक्रममा ब्याटिङ गर्दै खेलको गति परिवर्तन गर्न सक्ने क्षमतासँगै उनको अफ स्पिन बलिङले लुम्बिनीलाई थप बलिङ विकल्पसमेत उपलब्ध गराउनेछ।

बंगलादेशको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय अनुभव बटुलेका हुसेन अब लुम्बिनी लायन्सको जर्सीमा एनपीएल खेल्नेछन्। उनको अनुबन्धले टोलीको ब्याटिङ गहिराइ र अलराउन्ड क्षमतामा सुधार हुने लुम्बिनीको अपेक्षा छ।