एनपीएलको टिकट मूल्य सार्वजनिक, साधारण टिकट ५०० रुपैयाँदेखि

एनपीएलको टिकट मूल्य सार्वजनिक, साधारण टिकट ५०० रुपैयाँदेखि
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलहरूको टिकट मूल्य सार्वजनिक गरेको छ। लिग चरणका खेल हेर्न साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य एक हजार रुपैयाँ निर्धारण गरिएको छ।

क्यानका अनुसार इलिमिनेटर तथा फाइनल खेलका लागि भने साधारण टिकटको मूल्य एक हजार रुपैयाँ र प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ तोकिएको छ।

क्यानले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिताको टिकट मूल्य सार्वजनिक गरेको हो। तेस्रो संस्करणको एनपीएल आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ।

प्रतियोगिताका टिकट बिहीबार साँझ ८ बजेदेखि इसेवामार्फत खरिद गर्न सकिने व्यवस्था गरिएको क्यानले जनाएको छ।